गाेरखा- नेपाली कांग्रेसका नेता युवराज बस्ताकोटीले गण्डकी प्रदेशअन्तर्गत पार्टी सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज बिहीबार सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुँदैछ । उनी गोरखा क्षेत्र नम्बर १ बाट प्रदेश प्रतिनिधि छन्। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे प्रादेशिक अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम छ ।
‘इमानदारीपूर्वक कार्य गर्ने मानिसको नेतृत्वले मात्रै संगठन र समाजको हित गर्न सक्ने विश्वास गरेको छु। राजनीतिक इमानदारीता तथा आर्थिक पारदर्शिता भएका मानिसहरु नयाँ दृष्टिकोणसहित नेतृत्वमा स्थापित हुनु पर्ने मेरो मान्यता रहेको छ,’ उनले भने।
उनी नेविसंघ हुँदै कांग्रेस राजनीतिमा सक्रिय भएका थिए। उनी शिक्षा क्षेत्रमा समेत काम गर्दै आएका छन्। प्रदेश कार्यसमितिमा एक महिलासहित तीन सहमहामन्त्री हुने कांग्रेसको विधानको व्यवस्था छ। प्रदेश सहमहामन्त्री पदको उम्मेदवार हुन निरन्तर १० वर्ष कांग्रेस क्रियाशील सदस्य रहेको हुनुपर्छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । शनिबार निर्वाचन हुनेछ ।