पोखरा– नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।
पौडेल पक्षका कार्यकर्ताले प्रदेश अधिवेशनमा तोकिएको उम्मेदवारी शुल्कमाथि पनि प्रश्न उठाएका छन् । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ । उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएकामा पनि पौडेल पक्षका नेता कार्यकर्ताले विरोध जनाएका छन् ।
प्रदेश अधिवेशनका प्रतिनिधिहरुले निर्वाचन समितिले चर्को शुल्क लिएको गुनासो गरेका छन् । प्रदेश अधिवेशनका प्रत्येक प्रतिनिधिबाट २ हजार ५ सयका दरले रजिष्ट्रेशन शुल्क समेत लिइएको छ । गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले अधिवेशनका नाममा पैसाको खोलो बगाइएको आरोप लगाए । लोकतान्त्रिक पार्टीमा उम्मेदवार बन्नकै लागि हजारौं रुपैयाँ शुल्क तिर्न पर्नु दुःख भएको उनले बताए ।
पौडेल पक्षका कार्यकर्ताको नाराबाजी
प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नाराबाजी भएको छ । उद्घाटन सत्रको कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुलाई मात्र बोल्न दिएको भन्दै रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
कार्यक्रममा पौडेल पक्षका नेताहरुलाई वक्ता नराखिएको भन्दै पौडेल पक्षका कार्यकर्ताले नाराबाजी र विरोध प्रदर्शन गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु गोपालमान श्रेष्ठलगायतका देउवा पक्षका नेताहरु सहभागी छन् ।