गोरखा– नेपाली कांग्रेस गण्डकी प्रदेशको नयाँ कार्यसमितिका लागि गोरखाका ८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसकाे आजबाट सुरु भएको १४औँ महाधिवेशन अन्तर्गत ५९ सदस्यीय निर्वाचित कार्यसमितिका लागि १५० जनाको उम्मेदवारी परेको हो ।
संस्थापन पक्षबाट अर्जुन जोशीको नेतृत्वमा प्यानल बनेको छ भने संस्थापन इतरबाट शुक्रराज शर्माको नेतृत्वमा अर्को प्यानल खडा भएको छ । दुवै प्यानलले उम्मेदवारी दर्ता गराइसकेका छन् । केही पदमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।
सभापतिमा जोशी र शर्मा, उपसभापतिमा संस्थापनबाट मेखलाल श्रेष्ठ र नेत्र महत तथा संस्थापन इतरबाट हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले मनोनयन दर्ता गराए । मेखलाल र कल्पना दुवै जना स्याङ्जाका हुन् । महामन्त्रीमा संस्थापनबाट कुमार खड्का र ईश्वर पाण्डे तथा संस्थापन इतरबाट किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले उम्मेदवारी दिएका छन् । पाण्डे र श्रेष्ठ गोरखाका हुन् ।
सहमहामन्त्रीमा संस्थापन पक्षबाट महिलामा ओमकला गौतम र संस्थापन इतरबाट कोपिला रानाभाट तथा खुलामा संस्थापनबाट राजनराज पन्त र झुलबहादुर आलेले उम्मेदवारी दिए भने संस्थापन इतरबाट रामचन्द्र जोशी र रमेश पाण्डेको उम्मेदवारी परेको छ । पन्त गोरखा नगरपालिकाका मेयर हुन् ।
सहमहामन्त्रीमा दुई जनाले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । युवराज बस्ताकोटी र गणेश सापकोटा कुनै पनि प्यानलका उम्मेदवार होइनन् । ११ जिल्लाबाट महिलामा ११ जना निर्वाचित हुनुपर्नेमा १८ को उम्मेदवारी छ भने ११ जना नै निर्वाचित हुने खुलामा १९ जनाको उम्मेदवारी परेको छ । दुवै पदमा मनाङबाट कसैले पनि उम्मेदवारी दिएनन् । मुस्ताङ र तनहुँका दुवै पदमा सर्वसम्मत भएका छन् ।
यस्तै, चार जना निर्वाचित हुने प्रत्यक्ष महिलामा सात जनाको उम्मेदवारी छ भने आठ जना निर्वाचित हुने खुला प्रत्यक्षमा २६ जनाले मनोनयन दर्ता गराएका छन् । चार जना निर्वाचित हुने खस आर्य महिलामा नौ, चार जना नै निर्वाचित हुने खस आर्य खुलामा १५ जनाको मनोनयन परेको छ ।
प्यानलमा गोरखाबाट को को छन् उम्मेदवार ?
गोरखाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि चुनिएका मध्येबाट विभिन्न पदमा १४ जनाले शुक्रवार उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा संस्थापनका पाण्डे र संस्थापन इतरबाट श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । सह-महामन्त्रीमा संस्थापनका गोरखा नगरपालिकाका मेयर पन्तले उम्मेदवारी दिएका छन् । सह-महामन्त्रीमा प्रदेश प्रतिनिधि युवराज बस्ताकोटीले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
महिला सदस्यमा मिना अधिकारी र शोभा अधिकारी, खुल्ला सदस्यमा ध्रुवप्रसाद खनाल, पूर्ण बहादुर दाहाल र रमेश बस्ताकोटीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । खस आर्य महिलामा कमला लामिछाने र जानुका पन्त, आदिवासी जनजाति महिला तर्फबाट विना कुमारी श्रेष्ठ, खुला सदस्यमा प्रकाश चन्द्र दवाडी, दलित महिला सदस्यमा रिता परियारले उम्मेदवारी दिएकी छिन् । प्रदेश कमिटीका लागि भोलि शनिवार बिहान ८ बजे देखी मतदान सुरु हुने बताइएको छ ।