काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चाँडै नै आफ्नो पार्टी सत्तामा पुग्ने दाबी गरेका छन् । ललितपुरको जावलाखेलमा पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले भने, ‘यहीँ उभिएर राष्ट्रप्रमुखहरूले भोटो देखाउने गरेका छन् । तपाईंहरुको साथ र सहयोग रह्यो भने, देशका जनताको साथ र सहयोग रह्यो भने निकट भविष्यमा विवेकशील साझाका राष्ट्रप्रमुखले भोटो देखाउनुहुनेछ ।’
उनले यो कुरा अहिले गर्दा धेरैलाई अतिशयोक्तिपूर्ण लागे पनि जनताको मनोविज्ञान परिवर्तन हुँदै जाँदा यो सम्भव हुने जिकिर गरे । ‘पञ्चायत ढल्ला, राजतन्त्र ढल्ला, माओवादी सत्तामा आउँला भनेर कसैले सोचेकै थिएन । कसैले मञ्चमा उभिएर भाषण गर्दा मान्छे हाँस्थेँ,’ उनले भने, ‘अहिले हामीले हाम्रो विचार अघि सार्दा राजनीतिज्ञ र बुद्धिजीवीहरू त्यसलाई अवमूल्यन गर्छन् । तर लेखेर राख्नुहोस्, देश रूपान्तरण गर्ने भनेको विवेकशील साझा पार्टीले नै हो । हाम्रो पार्टीले देशको नेतृत्व गर्छ–गर्छ ।’
उनले पुराना पार्टीहरूले देश र समाजलाई गाउँदेखि न्यायालयसम्म जकडिएर राखेका कारण त्यो सिक्री तोड्न सजिलो नभएको पनि जिकिर गरे । उनले भने, ‘त्यसैले यो पाटीलाई ठूलो बनाउन विभिन्न समान सोच राख्ने शक्तिहरू एक ठाउँमा आउनुपर्छ र वृहद हस्तक्षेपकारी शक्ति निर्माण गर्नुपर्छ ।’
विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग औपचारिकरुपमा एकीकरण घोषणा गरेको छ । एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते नै भएको थियो ।
कल्याणकारी लोकतन्त्रलाई मुख्य राजनीतिक दर्शन बनाएको पार्टीले हालै मात्र अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचार भन्दा माथि देश’ नामक राजनीतिक दस्ताबेजलाई पारित गरेको छ । विचारभन्दा माथि देश दस्ताबेज सार्वजनिक भएसँगै पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल तथा समूहसँग एकीकरण र ध्रुवीकरण सुरु गरेको छ ।