काठमाडाै- ‘माटोको अम्लीयकरण रोकौँ, माटोको उत्पादकत्व बढाऔँ’ भन्ने नारासहित आठौँ विश्व माटो दिवस मनाइएको छ । यो वर्ष माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौँडा र काभ्रेको पनौती नगरपालिकाको संयुक्त आयोजनामा पनौतीमा विश्व माटो दिवस मनाइएको हो ।
पनौती नगरपालिकामा व्यावसायिक तरकारी खेती भइरहेका १२ वटै वडाबाट माटोको कुल चार सय तीन नमुना संकलन गरी परीक्षण गरिएको थियो । माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौडा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा बृहत घुम्ती माटो परीक्षण शिविर कार्यक्रम संचालन गरिएकाे हाे ।
संकलित नमूना विश्लेषण गर्न उपकरणहरु जडित घुम्ती प्रयोगशालाबाट माटोको परिक्षण, प्रांगारिक पदार्थ, नाईट्रोजन, फस्फरस र पोटासको परीक्षण गरिएको थियो । परीक्षणको नतिजा अनुसार ९३ प्रतिशत नमूनामा अम्लीय समस्या देखियो । ६० प्रतिशत माटोमा प्रांगारिक पदार्थ र ४८ प्रतिशत माटोमा नाईट्रोजनको कमि देखियो । फस्फरस र पोटास ठूलो समस्याको रुपमा नदेखिएकाे माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौडाका बरिष्ठ माटो विज्ञ डा. जनार्दन खड्काले जानकारी दिए ।
माटोको परीक्षणको आधारमा माटोको ब्यवस्थापन गरि उत्पादन बढाउन उपयुक्त हुने विश्वास आयोजकले लिएको छ । विश्वमा भएका माटो विज्ञहरुको संस्थाले सन् २००२ मा पहिलो पटक माटोको समस्या र समाधानको लागि जनचेतना फैलाउने उदेश्यले विश्व माटो दिवस मनाउन संयुक्त राष्ट्र संघलाई सिफारिस गरेको थियो ।
लामो समय पछि सन् २०१३ मा संयुक्त राष्ट्र संघको ६८ औ साधारण सभाबाट प्रत्येक वर्ष डिसेम्वर ५ तारिकका दिन संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले विश्व माटो दिवस मनाउने निर्णय भयो । सोहि अनुसार सन् २०१४ डिसेम्वर ५ देखि विश्व माटो दिवस मनाउने कार्यक्रमको शुरुवात भएको हो ।
नेपालमा खेती योग्य जमिनको ५० प्रतिशत भन्दा बढी माटोमा अम्लीय समस्या छ । बागमती प्रदेशमा ६० देखि ७० प्रतिशतको हाराहारीमा माटोको अम्लीय समस्या रहेको देखिन्छ । माटोमा अम्लीयपनाको समस्या पछि अर्को ठूलो समस्या भनेको माटोमा प्रांगारिक पदार्थको कमिको समस्या हो । प्रांगारिक पदार्थ माटोमा कम्तीमा ३ देखि ५ प्रतिशत हुनुपर्नेमा बागमती प्रदेशमा १ देखि २ प्रतिशतको हाराहारीमा रहेको छ ।