काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् ।
उनले रामचन्द्र पौडेलको नाममा सहमति जुटेमा आफू दावी छाड्न तयार रहेको बताएका हुन् । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षबाट सभापतिमा साझा उम्मेदवार छनोट गर्न नेताहरुबीच छलफल भएको थियो ।
त्यस क्रममा वरिष्ठ नेता पौडेलले सभापतिका आकांक्षी नेताहरुसँग एक्लाएक्लै छलफल गरेका थिए । उनले महामन्त्री कोइरालालाई आफूलाई समर्थन गर्न आग्रह गर्दै अरु नेताहरुलाई आफूले मिलाउने बताएका थिए । जवाफमा कोइरालाले ‘तपाईका लागि छाड्छु, अरुलाई मिलाउनुस्’ भनेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
१४ औं महाधिवेशनका लागि पौडेल पक्षबाट पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिको आकांक्षी छन् ।
सभापतिको साझा उम्मेदवार टुंगो लगाउन प्रकाशमान सिंह निवासमा बसेको बैठक विना निश्कर्ष सकिएको छ । नेताहरुका अनुसार बुधबार पुन छलफल हुनेछ । बुधबारको छलफलमा पौडेल पक्षका जिल्ला सभापति, पूर्वसभापतिहरु, प्रदेश समितिका सभापति तथा प्रदेश अधिवेशनमा पराजित पौडेल पक्षका उम्मेदवारहरु सहभगी हुनेछन् ।