काठमाडौं– एक अर्कालाई खुइल्याउन हरेक भाषणमा गम्भिर आरोप लगाउने र चर्को आलोचना गर्दै हिडेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपाल फेरि एक पटक एउटै मञ्चमा देखिने भएका छन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले २४ मंसिरमा १४औं महाधिवेशनको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन गर्दै छन् । यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई पनि आमुन्ने सामुन्ने बसाउने भएको छ । कांग्रेसले महाधिवेशनको ब्यानरमा ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ नारा राखेको छ ।
नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिस्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला हुन लागेका हुन् । विभाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ ।
उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष नेपाल सहभागी हुने निश्चित भएको छ । ओली–प्रचण्डबीच भेट नभएको एक वर्ष भयो भने पाँच महिनायता ओली-नेपाल पनि भेट छैन ।
नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको छ । उनीहरूबीच संवाद टुटेको लामै समय मात्रै भएको छैन, देशव्यापी तिक्तता बढिरहेको छ । तीनै दल आपसमा कार्यकर्ता तान्ने होडबाजीमा छन् । नेताहरूले विभिन्न मञ्चबाट आपसी घोचेपेच र जुहारी जारी राखेका छन् । यस्तो पृष्ठभूमिमा एउटै मञ्चमा आमुन्ने–सामुन्ने हुन लागेका नेताले कस्तो सम्बोधन गर्लान् ?