काठमाडौं- नेपाली कांग्रेसका नेता धनराज गुरुङले पूर्वमहामन्त्री प्रकाशमान सिंहमाथि कटाक्ष गरेका छन् । शेखर कोइरालाको टिमले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा उपसभापतिका उम्मेदवार समेत रहेका गुरुङले सिंहको नाम त लिएनन्, तर भेडाको विम्ब प्रयोग गरेर कटाक्ष गरेका छन् ।
उनले भने, ‘मलाई पटक्कै विश्वास छैन, म मान्दा पनि मान्दिन । मैले नमान्दा नमान्दै पनि तर एउटा कुरा अचम्म लागेको छ । बाबु भन्नुहुन्छ, छोरा यी भेडा होइनन् । तर छोरा लुकेर सबै भेडा बेचिदिन्छ । पिताजी भन्नुहुन्छ, बाबु राजनीतिमा नैनिकता हुन्छ । तर छोरा भन्छ, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ ।’
नेतृत्व परिर्वतनको नारा दिएर कांग्रेसको सभापतिमा चुनाव लडेका सिंहले दोस्रो चरणमा सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।
उपसभापतिका उम्मेदवार गुरुङले मतमा आफूहरु कम भएपनि विचारले नहारेको बताए । उनले भने, ‘गणेशमानजी, किसुनजी, महेन्द्रनारायण निधि, बीपी कोइरालाका रगतले मात्र छोरा होइनौं, हामी सबै छोराका दाबेदार हौं । निष्ठाका दाबेदार हौं ।’
चुनावमा आफूहरु फेल नभएको गुरुङले बताए । आफूहरुले ४० प्रतिशत मत ल्याएको भन्दै उनले भने, ‘भोलिको दिनमा हामी कति प्रतिशतमा रहन्छौं, त्यो तपशील हो । तर आउने निर्वाचनमा ५१ प्रतिशतको कांग्रेस बनाउने बोध गरेका छौं ।’