काठमाडाैं- रक्षामन्त्री पदबाट राजीनामा दिएका नेपाली कांग्रेस नेता डा. मीनेन्द्र रिजालले आफू राजनीतिमै रहने वा नरहने निष्कर्षमा नपुगेको बताएका छन् । राजीनामा निर्णय आफूले भावावेशमा नगरेको उनको भनाइ छ ।
राजीनामापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा रिजाललाई पत्रकारले सोधेका थिए, ‘कतै राजनीतिबाटै अलग हुने संकेत गर्न खोज्नुभएको त होइन ?’ डा. रिजालले जवाफ दिए, ‘मैले त्यस्तो संकेत गरेको होइन । तर, सम्भावना छँदैछैन भन्दिनँ ।’
अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने रिजालले बताए। ‘म सावर्जजनिक जीवनमा नै हुनेछु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु भन्ने थाहा छैन । जहाँ भए पनि तपाईंहरुसँग भेटघाट हुन्छ,’ उनले भने ।
राजिनामा बुझाए लगत्तै रक्षामन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अब उपरान्त आफु सक्रिय राजनितीमा नरहन पनि सक्ने बताए । बिहीबार कांग्रेस महामन्त्रीको मत गणना जारी रहँदा उनले सामाजिक संजाल मार्फत नै राजीनामा दिने घोषणा गरेका थिए ।
कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मतपरिणामअनुसार खसेको ४ हजार ६ सय ८२ मतमा रिजालले ८०९ मत मात्र पाएका थिए ।