काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको नाम गफाडी नम्बर एक भनेर गिनिज बुकमा लेखिदिए हुने बताएका छन्। सोमबार समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘गफमा त उनीसँग कसैले सक्दैन। उनको नाम गिनिज बुकमा लेखिदिए हुन्छ। गफाडी नम्बर एक केपी ओली भनेर,’ उनले भने, ‘पर पीडक नम्बर एक केपी ओली अरुलाई पीडा मात्रै दिने।’
उनले आफूहरुले त्यस्तो कसैलाई नगर्ने भन्दै ओलीलाई सुध्रिन र सही बाटोमा आउन अझै पनि भनिरहेको बताए। ‘गठबन्धनको सरकार लामो समयसम्म चल्ने देखिन्छ,’ उनले भने, ‘राष्ट्रियसभाको निर्वाचन हुँदै आगामी निर्वाचनसम्म लैजाने विषयमा छलफल भइरहेको छ।’
नेपालले एमसीसीलाई आफूहरुले आर्थिक सहयोगको विषय मात्रै बनोस् भन्ने चाहेको बताएका छन्। ‘एमसीसीको सवालमा पनि छलफल चलाइरहेका छौं। त्रुटी छन् भने त्यसमा छलफल गरिरहेका छौं। तीनजनाको कार्यदल बनाइएको छ। त्यसले पनि अध्ययन गरेर निष्कर्ष अघि सार्नेछ,’ उनले भने, ‘एमसीसीको अन्तरवस्तुको विषयमा पनि प्रवेश गरिरहेका छौं। कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरा स्वीकार्न सक्दैनौं। यसलाई हामीले राम्रो र सहज वातावरणमा अगाडि बढाउन चाहन्छौं।’
विशुद्ध आर्थिक सहयोगको विषय बनोस् भन्ने आफूहरुको भनाइ रहेको उनले बताए। देशको हित गर्ने कुरालाई सुनिश्चित गरेर मात्रै अघि बढने विषयमा आफूहरु सकारात्मक रहेको उनको भनाइ छ ।