गाेरखा- पालुङटार नगरपालिका-६,गाईखुरकाे लक्ष्मी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक स्वगिय परशुराम श्रेष्ठको प्रथम स्मृति दिवसमा ‘परशुराम श्रेष्ठ स्मृति ग्रन्थ’ विमोचित भएकाे छ । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले एक कार्यक्रमका बीच उक्त गन्थ सार्वजनिक गरेका हुन् ।
मन्त्री आचार्यले तत्कालीन अप्ठ्यारो परिस्थितिमा पनि स्वगिय श्रेष्ठले सामाजिक परिवर्तनका लागि भूमिगत रूपमा कम्युनिष्ट आन्दोलनमा निभाएको भूमिका स्मरण गर्दै उनको भौतिक शरीर नरहेको अबस्थामा पनि श्रेष्ठको विचारलाई व्यबहारमा उतार्नु आबश्यक रहेकाे बताए। बौद्धिक व्यक्तित्वको बिचार र ब्यबहार तथा सत्य र निष्ठालाई मार्गदर्शनको रुपमा अंगिकार गर्नुपर्ने र हरेक नेतृत्वले सो अवलम्वन गरी सामाजिक परिवर्तनका लागि योगदान दिन उनले आग्रह गरे ।
विद्यालयका संस्थापक प्रधानाध्यापक श्रेष्ठ २०१८ देखि २०४५ सम्म २७ वर्ष कार्यरत थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाका संस्थापक सदस्य श्रेष्ठले शिक्षकहरुको हकहितको लागि २०४० को दशकमा अग्रणी भूमिका निर्वाह गरेका थिए । गोरखाको पश्चिमी भेग लगायत लमजुङ र तनहुँ जिल्लाको समेत शिक्षा तथा सामाजिक क्षेत्रमा उनकाे बिशेष योगदान थियाे ।
पुस्तक विमोचन कार्यक्रममा विद्यालयका कक्षा ११ मा अध्ययनरत सोना तुम्सिङ मगर र गोबिन्द तामाङ तथा कक्षा १२ मा अध्ययनरत सुवास कोइराला र कुलमाया श्रेष्ठ गरी चारजना छात्रछात्रालाई ‘परशुराम स्मृति छात्रवृत्ति’ समेत प्रदान गरिएको थियो । श्रेष्ठको घरमा २० वर्ष सम्म सहयोग गरेर पेन्सन स्वरुप जग्गा प्राप्त गर्ने सहयोगीमध्ये हालसम्म जीवीत गोरे सार्कीलाई विशेष सम्मान र सहयोग गरिएको थियो ।
प्रतिष्ठानका सचिव हितकाजी श्रेष्ठले स्मृति ग्रन्थमा स्व. श्रेष्ठका विभिन्न आयामहरूलाई समेटेर उनका समकालीन सहकर्मी, पूर्व विद्यार्थी, नातेदार तथा श्रेष्ठका आलेखहरू समेत संग्रहित भएको बताए । प्रतिष्ठानका सल्लाहकार कल्याणी श्रेष्ठले श्रेष्ठ र भाइ राजेन्द्र श्रेष्ठले यस क्षेत्रको सामाजिक उत्थानमा पूर्याएकाे याेगदानको स्मरण गरे ।
विद्यालयका प्रधानाध्यापक टिकाराम श्रेष्ठले सबै हेडमास्टरको पनि हेडमास्टर बन्ने व्यक्तित्व आफ्नै कर्मद्वारा प्राप्त गरेकाे बताएका थिए । उनले तत्कालीन प्यारो विद्यार्थी आफू पनि उनकै पदचापमा हिंडी उनको विरासत कायम राख्न कटिवद्ध रहेकाे प्राण गरे ।
नेकपाका केन्द्रीय सल्लाहकार बसन्त बराकोटीले स्व. श्रेष्ठको सादा जीवन, उच्च विचार भएको ब्यक्तित्वबारे प्रकाश पार्दै उनले शिक्षा तथा सामाजिक परिवर्तनका लागि गरेकाे उदाहरणिय योगदान बारे चर्चा गरेका थिए । पंचायतकालिन कालरात्रिमा पनि भूमिगत रूपमा सामाजिक न्यायकालागि श्रेष्ठले गोरखामा कम्युनिष्ट विचार धाराको बिजारोपण गरेकाे उनकाे तर्क थियाे ।
वडा न ६ का वडा अध्यक्ष गोबिन्द बराकोटीले श्रेष्ठलाई सो क्षेत्रकै सर्वश्रेष्ठ अभिभावक तथा सयौं बिद्यार्थीहरूको गुरु भएकाे स्मरण गर्दै उनले स्थानीय अभिभावक र बिद्यार्थीहरू परिचालित गरी विद्यालय भवन निर्माण गर्न निर्वाह गरेकाे भूमिकाबारे चर्चा गरेका थिए । उनको पसिनाले सिंचित विद्यालयकाे गुणस्तरीय शिक्षा कायम राख्न सके उनीप्रति सही श्रद्धाञ्जली हुने सुझाव दिए ।