काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले पुष्पकमल दहाल (प्रचण्ड), केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन्। माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका छन्।
उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि थुप्रै संघर्ष भए पनि शुरुका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए। उनले यस्ता घटनाको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए।
महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरुले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको बताए। उनले अहिले प्रचण्ड आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओव पहिले नै छोडिसकेको दाबी गरे।
‘कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरु भए, पहिलेका किसान आन्दोलनहरु, २०२८ सालयता झापाको ऐतिहासिक सशस्त्र बिद्रोह, हामी नेकपा माओवादीहरुले चलाएको १० वर्षे जनयुद्ध, राम्रै तरिकाले अघि बढेका हुन्’, उनले भने, ‘तर भयो के भने, शुरु, शुरुका क्रान्तिकारीहरु पछि गएर बिग्रिए। यो एउटा स्थिति हो, यो त हुँदो रहेछ। चीनमा पनि भएको थियो। यस्त घटना भए पनि यिनको व्याख्या गर्न जरुरी छ।’
उनले नेपालमा सच्चा कम्युनिष्टबारे प्रश्न रहेको पनि बताए। ‘दक्षिणपन्थीहरुको एउटा व्याख्या छ हाम्रो अर्को व्याख्या छ। दक्षिणपन्थीहरुको अहिले ओलीहरु भन्नुस्। उनीहरुलाई सबैले साच्चैको दक्षिणपन्थी भन्छन्।तर उनीहरुले आफूलाई खाँटी मार्क्सवादी भन्छन्। एकजना उनको नेताले, नाम नभनौँ’, उनले भने, ‘अहिलेको मूल समस्या भनेको दक्षिण्पन्थी अवसरवाद हो भने भन्छ ल हेर्नुहोस्। दक्षिणपन्थीको नेतृत्व गर्ने जुन हो, त्यसैले अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद हो भन्छ। अर्कोतिर प्रचण्डहरु। म क्रान्तिकारी हुँ भन्न थाले। विचारमा क्रान्तिकारी, पार्टी अब नयाँ निर्माण गर्ने भनेर फलाक्न थालिसके।’
उनले प्रचण्डलाई अवसरवादीको संज्ञा दिए। ‘जस्तो अवसरवादी भएपनि विचित्रको एउटा कुरा के हो भने माक्सवाद, लेनिनवाद, माओवादको नाम त जप्नुपर्दो रहेछ। प्रचण्डले माओवाद त उहिले छोडिसके, अहिले सबै वाद झुन्ड्याएका छन्। प्रचण्ड के भन्छन् भन्दा यो संविधानको रक्षा गर्ने हामी हौँ, प्रतिगमनविरुद्ध जाने हामी हौँ भनेर कुर्लेका छन्’, उनले भने, ‘यो संविधानको रक्षा गरे त, त्यही हो प्रतिगमन, त्यही हो प्रतिक्रान्तिकारी, ओलीहरु, प्रचण्डहरु दक्षिणपन्थी मात्रै होइनन्, दक्षिणपन्थी भन्दा कम से कम कित्ताको कुरा आउँछ, यिनीहरु त प्रतिक्रियावादका दलाल हुन्।’
महासचिव वैद्यले माक्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्नेमा जोड दिए।