काठमाडौं– नयाँ नेपाल बनाउन हाम्रा विचार र मान्यता के हुन् त्यसमा छलफल गर्नुपर्ने नेकपा ( एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बताएका छन्। माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष नेपालले सबै राजनीतिक दल एक हुँदा सफलता आएको भन्दै मूल कुरामा सहमति गर्नुपर्ने बताए।
राजनीतिक क्रान्तिका काम सम्पन्न गरिसकेको भन्दै उनले अब जनुसुकै पार्टीमा आबद्ध भए पनि राष्ट्रिय झण्डामा एकताबद्ध हुनुपर्ने बताए। राष्ट्रियताको सवालमा विमति हुनु नहुने उनले बताए।
जनताको विश्वास जित्न कुरा मात्रै पर्याप्त नहुने र व्यवहारमा काम गरेर देखाउनुपर्ने उनले बताए। गरिबीमा जनता बाँचिरहेका भन्दै यो अन्त्यका लागि पार्टीमा छलफलको एजेण्डा बन्नुपर्नेमा उनले जोड दिए। विज्ञहरूको बीचमा र आम जनताका बीचमा व्यापक छलफल भए मात्र नेपालमा गरिबी उन्मूलन गर्न सकिने उनले तर्क गरे।