काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता गरेर आफूहरुले कुनै गल्ती नगरेको बताएका छन्। माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झिँदै यस्तो बताएका हुन्।
आफू अगाडि बोलेका एमाले महासचिव शंकर पोखरेलको पनि प्रशंसा गर्दै दाहालले पार्टी एकता बचाउन नसकेकोमा दुवै पक्षले समीक्षा गर्नु पर्ने बताएका छन्। ‘एमाले महासचिव शंकर पोखरेलले मननयोग्य कुरा नै राख्नु भयो’, उनले भने, ‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ। सिंगो एमालेका साथीहरुलाई भन्छु हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ।’
उनले एकता तोडेर आफूहरु कसरी दुई ठाउँमा पुगेर आफ्नै सपना भत्काएको बारे समीक्षा हुनुपर्ने उनले बताए।
‘त्यत्रो सपना बोकेर गरिएको एकता तोडेर के कारणले दुई ठाउँमा हुन पुग्यौँ? हामीले किन आफ्नै सपना भत्कायौँ?’, उनले भने, ‘हामीबीच त देशमा राजनीतिक स्थायित्व र समाजवादको सपना पूरा गर्ने योजना थियो। तर यो कसरी तोडियो। एमालेका साथीहरुले पनि समीक्षा गरुन्, हामी पनि यसबारे छलफल गर्नेछौँ।’
प्रचण्डले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आफूले आजै बिहान झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको पनि बताए। ‘मैले ओलीजीसँग टेलिफोन संवाद गरेर महाधिवेशनमा निम्तो दिएँ। सम्भव भए दिउँसो १२/१ बजेसम्म भए पनि आउनु भनेको थिएँ’, उनले भने, ‘तर उहाँले राष्ट्रिय सम्मेलन मात्रै भएकाले निम्ता नआउने ठानेर झापा आएँ भन्नु भयो। बरु महासचिवलाई पठाउँछु भन्नु भयो।’
भिडियाे