गोरखा- उत्तरी गोरखामा गएरातीदेखि भीषण हिमपात परेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकासं क्षेत्रमा हिमपात परेको स्थानीयबासीहरुले बताएका छन् । धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत नमुनाबस्ती हिउँले ढाकिएको छ ।
त्यस्तै सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामागाउँ लगायतका ठाउँमा गएरातीदेखिको हिमपातका कारण मानिसहरु घर बाहिर निस्कन समेत समस्या परेका छन् । हिमपात पछि जनजिवन कष्टकर भएको छ । हिउँ परेसँगै बालबच्चा, वृद्धवृद्धालाई चिसोले सास्ती थपिएको छ ।
हिउँले बालीनालीमा फाईदा पुग्ने भन्दै किसान खुसी भएका छन् । हिउँ परे सँगै उत्तरी क्षेत्रको खर्कमा राखिएका पशु चौपायालाई पनि तल्लो सुरक्षित क्षेत्रमा झारिएको स्थानियले बताएका छन् । उत्तरी गोरखामा हिमपात भएसँगै तल्लो भेगमा जाडो बढेको छ । उच्च हिमाली क्षेत्रमा ४ फिट हिउँ जमीसकेको छ ।
शुक्रबार देखि परेको हिमपातले उत्तरी गोरखाको जनजीवन मा चिसोका कारण अत्यन्तै कष्टकर बनेको छ । ‘हिउँ परेर पानीका धाराहरु पनि पुरिएको छ । एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अबस्था पनि छैन । स्कूलहरु पनि बन्द गरेका छन् । पसलसम्म पुग्न पनि कष्टकर छ । साना बच्चाहरु अनि बुढापाका मान्छेलाई चिसोले भेटिहाल्छ कि भन्ने चिन्ता छ’, धार्चे गाउँपालिका लाप्राककी उम्नी गुरुङले टेलिफोनमा भनिन्, ‘जनजीवन त अत्यन्तै कष्टकर छ ।’
उत्तरी गोरखामा कार्तिक महिनाको अन्तिमदेखि नै हिमपात सुरु हुन्थ्यो । तर, यस बर्ष भने हिमपातमा ढिलाई भएको हो । यहाँका स्थानीयहरुले हिमपात नभएको बर्ष भोकमरी लाग्ने बर्षको रुपमा बुझ्ने गर्दछन् । यस बर्ष समयमा नै हिमपात नहुँदा चिन्तित बनेका स्थानीयहरु अहिले कष्टकर जीवनयापनमा पनि रमाईरहेका छन् ।
हिमपात नभए खडेरी लाग्ने र अन्नबालीको उत्पादन घटेर भोकमरी लाग्न सक्ने हुनाले हिमपातले कष्टकर जीवनयापनमा पनि स्थानीयहरु खुसी हुने गरेको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङ बताउँछिन् । ‘बर्षा र हिमपात भएन भने यहाँ लगाईने अन्नबालीहरु उत्पादन हुँदैन अनि भोकमरी लाग्छ भन्ने भनाई छ ।
यस बर्ष धन्नै आठ महिनापछि यहाँ पानी पर्यो । हिमपात पनि ढिलो नै भयो । हिमपात र पानी नपर्दा स्थानीयहरु अन्नबाली नहुने भयो भन्ने चिन्तामा थिए’, उपाध्यक्ष गुरुङले भनिन्, ‘हिमपातपछि चिसो बढेर जनजीवन कष्टकर छँदै छ । तर, अधिकांस स्थानीयहरु खेतीपाती राम्रो हुने आशमा खुसी छन् ।’ उत्तरी गोरखामा आलु, गहुँ, फापर, कोदो, मकै, जौ जस्ता अन्नबालीहरु लगाउने गरिन्छ ।