काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् ।
महाधिवेशनको जारी छैटौँ दिनको बन्दसत्रमा आफ्नो वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता देखिएको बताएका हुन् ।
‘हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ । महाधिवेशन उद्घाटनमै पनि यहाँहरुले सुन्नु भयो,’ उनले भने, ’प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नुभयो ।’
प्रचण्डले फेरि थपे, ’मैले यसो बाहिर पनि नियाल्दा माओवादी पछाडि फर्किन्छ कि भन्ने चिन्ता गरेजस्तो पाइएको छ । त्यो भनेको माओवादी फेरि अर्को के के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दैछ भनेर ठानेका छन् । यो सकारात्मक नै हो ।’
बाबुराम र पाण्डेलाई जवाफ- कम्युनिस्ट आन्दोलनको इतिहासमा दर्ज भयो
प्रचण्डले प्रतिवेदनमाथि टिप्पणी गर्ने पूर्वमाओवादी नेता बाबुराम भट्टराई र एमाले नेता सुरेन्द्र पाण्डेलाई पनि जवाफ दिएका छन् ।
’कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो । कसैले २१औँ शताब्दी फड्को हान्न खोजे पनि भने, कतिले २०औँ शताब्दीमा फर्किन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने,’ प्रचण्ड भने, ‘तर यो महाधिवेशन अरुभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रित बन्यो । यही रुपमा कम्युनिस्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।’
महाधिवेशनमा विचारको विकास, आत्मसमीक्षाको रुपमा, जनतासँग जोडिने सवालमा यो महाधिवेशन फरक रुपमा प्रस्तुत भएको सबैले आत्मसात गरेको उनको भनाइ छ ।
पार्टीको जारी महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएका हुन् ।
आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार छौं
प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको उदघोष गरे ।
’कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौंको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ प्रतिनिधिमाझ प्रचण्डले भने, ’तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’
आफूलाई कतिपयले अस्थिर भनेपछि आफू गतिशीलताको यात्रामा रहेको र आजको परिवर्तन त्यसकै उपज भएको उनको दाबी छ ।
‘हाम्रो यात्रामा म सुधारवाद देख्दिनँ । यसमा म छलाङ र गतिशीलतामा देख्छु । कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्छन् । तर २०४५ सालमा सानो समूहबाट सुुरु गरेर २०५२ सालमा जनयुद्ध सुुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ? त्यसैले यो गतिशीलतामा जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंड्न हामी तयार छौं । हामी अहिले पनि एउटा छलाङ हान्न खोजिरहेका छौं,’ उनले भने ।