गुल्मी- शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री गृह जिल्लाको एक कार्यक्रममा रोएकी छन्।
शुक्रवार गुल्मीको सदरमुकाम तम्घासमा नेकपा (एकीकृत समाजवादी) गुल्मीको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री झाँक्री एमालेमा गरेको संघर्ष सम्झँदै भाबुक बनेकी हुन्।
एकीकृत समाजवादी गुल्मीको पार्टी कार्यालय नजिकै एमाले पार्टी कार्यालयको पक्की घर छ। साेही घरलाई सम्झिँदै उनले भनिन् ‘जिन्दगीका महत्वपूर्ण समय त्यही घर पार्टीमा योगदान गर्यौं’, लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियान्ता पनि बन्यौं।’
उनले त्याे घर (एमाले) बाट अलग हुनुपरेको दुखेसो पोखिन्। अबको यात्रा थप कठिन हुने पनि बताइन्। ‘दुःखले निर्माण गरेको घरमा बस्न पाइएन’ उनले आँशु झार्दै भनिन्, ‘यात्रा कठिन छ। कठिन यात्रा पनि सम्भव छ।’
एमालेले वर्तमान गठबन्धन टुटाउन लागेको भन्दै कुनै पनि हालतमा नटुट्ने र निर्वाचनसम्म जाने बताइन्। एमालेकै कारण देशको आवश्यकताको आधारमा गठबन्धन बनेको उनकाे भनाइ थियाे।
एमाले अध्यक्ष ओलीले निर्वाचन नै नचाहेको र निर्वाचन भए पत्तासाप हुने जिकिर गरिन्।