काठमाडौं- उद्घाटन हुनु भन्दा केही घण्टा अघिमात्र सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । कार्यक्रमस्थलदेखि कतिपय चोकमा राष्ट्रिय सम्मेलन लेखिएका बोर्ड फेर्न आयोजकलाई हैरानी भएको थियो ।
पहिलाको राष्ट्रिय सम्मेलन र पछि महाधिवेशनको उद्घाटन हुनु अघिको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले माओवादी पार्टी सदस्य संख्या ७ लाख ६ हजार ५०० पुगेको र यो संख्या ८ लाख पुग्ने अनुमान गरिएको बताएका थिए ।
७ लाख बढी सदस्य रहेको दाबी गरिएको र संसदको तेस्रो ठूलो दल नेकपा माओवादीले राष्ट्रिय सम्मेलन कि महाधिवेशन भनेरनै निर्णय गर्न नसकेको र केही घण्टामा नै फेरिने चरित्र देखाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यसमा पनि अध्यक्ष प्रचण्डलाई ‘महाधिवेशन पो गरौं कि क्या हो?’ भन्ने लागेपछि एकाएक राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरण भएको भन्दै कटाक्षसमेत भएका थिए।
जे होस् माओवादीले ८ औं महाधिवेशन सम्पन्न गरेको छ। प्रचण्डमाथि महाधिवेशन गर्ने सोच हुँदा हुँदै पनि सुरुमा राष्ट्रिय सम्मेलन भनेर नेता कार्यकर्ता अलमलमा पारेको आरोप पनि नलागेको भने होइन ।
विचारको बहस
माओवादीका नेताहरुले आफूहरुको पार्टी अन्य संसदवादी दलहरुजस्तो पदका लागि मात्र कुद्ने र महाधिवेशन भनेको नेतृत्व चयनमा मात्र केन्द्रीत नहुने भन्दै बहसलाई प्राथमिकता दिएको बताएका थिए । विचारको बहसका लागि आफूले राजनीतिक प्रस्ताव तयार गरेको र माओवादीको दस्तावेजले देशमा ‘हलचल’ नै ल्याउने खालको अभिव्यक्ति प्रचण्डले दिएका थिए । त्यसमा मनथन गरेर देश विकासको खाका अघि बढाउने र पार्टीलाई पनि उर्जावान बनाउने घोषणा उनले गरेका थिए ।
तर, उनले बन्दसत्रमा पेस गरेको राजनीतिक प्रस्तावमा त्यस्तै कुनै ‘महानतम’ चिज भएको चर्चा सुनिएको छैन । महाधिवेनमा आएका प्रतिनिधिले २५ समूह बनाएर दुई दिन छलफल गरे र अब यो प्रतिवेदनपछि पार्टी सुध्रिन्छ वा रुपान्तरण हुन्छ भन्ने भन्दा पनि प्रचण्ड तर्फनै बढी औंला सोझ्याए । उनको जीवनशैली र घरभेटीबारे बारम्बार प्रश्न गरे । नेताहरुको जीवनशैलीबारे चर्को आलोचना भयो । यसअर्थ प्रचण्ड र माओवादी शीर्ष नेतृत्वले भने जस्तो महाधिवेशन विचारको बहस गर्ने थलो त बन्यो तर चर्चा गरिएजस्तो विचारको बहस हुन सकेको देखिएन ।
प्रचण्डको राजनीतिक प्रस्तावमाथि उठेका विभिन्न प्रश्नबारे जवाफ दिँदै उनले फरक मत र पुरक प्रस्तावलाई समेटेर प्रतिवेदन तयार गर्ने भन्दै बन्दसत्रमा भाषण गरे। तर त्यस अनुसार उनले संशोधन गरेनन् । बरु उनले आफ्नो प्रतिवेदन मान्य रहेको भन्दै हलबाट पारित गराए । उक्त प्रतिवेदनमा समूहगत छलफलमा उठेका विषय अब प्रचण्डले समावेश गर्छन् वा झारा टार्ने हिसावमा मात्र विषयलाई समेट्छन् ? महाधिवेशन सकिएको घोषणा भएपछि प्रस्तावमा सामान्य रुपमा समेटिने विषयले माओवादी कार्यकर्तालाई कति प्रभाव पार्ला ?
सकियो कि सकिएन दोधारमा प्रतिनिधि
११ देखि १८ सम्म आठ दिन देशभरबाट आएका एक हजार ६ सय ३१ प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाए । दुई दिन प्रचण्डको प्रतिवेदनमाथि र दुई दिन टोली नेताको प्रस्तुतिलाई सुनेका उनीहरुले आइतबार साँझ प्रचण्डले केन्द्रीय सदस्यहरुको घोषणा गरेको हलभित्र बसेर सुने ।
त्यसअघि माओवादीमा पनि केन्द्रीय पदाधिकारी र सदस्यका लागि चुनाव हुन लागेको भन्दै धेरै आश्चर्यमा परेका थिए । ओवादीले लोकतान्त्रिक पद्दतीबाट भन्दा पनि टिके प्रथाबाट केन्द्रीय सदस्य चयन गर्दै आएको यसअघिको परम्परालाई तोड्न लागेको हो? भन्ने चासो रहेको थियो । तर निर्वाचनमा जान शीर्ष नेतृत्व तयार थिएन ।
जसका कारण विभिन्न समूहगत रुपमा मिलाएर २९९ मध्ये २३६ केन्द्रीय सदस्यको घोषणा प्रचण्डले गरे । आठ दिनसम्मको महाधिवेशन उत्सवमा पनि प्रचण्डले ६३ जना को चयन गर्न सकेनन् । पदाधिकारी चयन पनि आजै गरिने आशा नेता कार्यकर्तामा थियो। तर प्रचण्डले सहमति नजिक पुगेको भन्दै भोलि टुंगो लाग्ने भन्दै यसलाई पनि पन्छाइदिए ।
महाधिवेशन आयोजना स्थलबाट माओवादीले व्यानर लगायतका सामाग्री हटाइसकेको छ र औपचारिक रुपमा महाधिवेशन सकिएको प्रेस विज्ञप्ति जारी भइसकेको छ । महाधिवेशन सकिएको हो र? भन्दै प्रतिनिधिहरु भने प्रश्न गरिरहे्का छन् । किनकी महाधिवेशनबाट कमिटीले नै पूर्णता पाउन सकेन । समग्रमा भन्दा माओवादीको महाधिवेशनबाट प्रतिनिधि र माओवादी कार्यकर्ताले न वैचारिक स्पष्टता पाए र केन्द्रीय समिति, पदाधिकारी पाउन सके ।
चुनाव नजिकै आउँदा महाधिवेशनपछि नेता कार्यकर्तामा जुन खालको उत्साहको सञ्चार हुने अनुमान गरिएको थियो त्यस अनुसार माओवादी महाधिवेशन सफल हुन सक्यो वा सकेन भन्ने आगामी दिनमा देखिनेनै छ।
नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सम्बन्धी प्रेस नोट
प्रेस नोट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आज (१८ पुस २०७८) मा सम्पन्न भएको छ । महाधिवेशन बारे जानकारी गराउन यो प्रेस नोट जारी गरिएको छ ।
१. ११ पुस २०७८ दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिस्ठान भवनमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष क. माधवकुमार नेपाल, नेकपा (एमाले)का महासचिव क. शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष क. दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी)का नेता क. सीपी गजुरेल, नेकपा (माले)का महासचिव क. सीपी मैनालीले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
२. १२ पुसमा २०७८ बाट महाधिवेशनको बन्द सत्र सुरु भयो । बन्द सत्रको पहिलो दिन पार्टी अध्यक्ष क. प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा २५ पृष्ठको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभयो । पार्टी स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नुभयो । वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजित गरियो ।
३. १३ पुस २०७८ मा वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामा २५ वटै समूहमा वृहत् छलफल भयो । समूहगत छलफल १४ पुस अपरान्ह १२ बजेसम्म जारी रह्यो ।
४. १४ पुस २०७८ को अपरान्ह १ बजेबाट समूहगत छलफलको प्रस्तुति सुरु भयो । ११ वटा समूह प्रमुखले उक्त दिन आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नुभयो । बाँकी समूह प्रमुखले १५ पुसमा समूहगत निकर्ष प्रस्तुत गर्नुभयो ।
५. १६ पुस २०७८ मा पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका प्रमुखहरुले आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
६. १६ पुस २०७८ मा पार्टी अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रस्तुत ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिनुभयो । उहाँले स्थायी कमिटी सदस्य क. राम कार्कीले राख्नुभएको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्री सदस्य क. लेखनाथ न्यौपानेले राख्नुभएको भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीकार गरेको जानकारी गराउनुभयो । समूहगत छलफलमा आएका महत्वपूर्ण सुझावहरुलाई दस्तावेजमा समावेश गर्ने अध्यक्ष क. प्रचण्डको प्रतिबद्धतापछि ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजलाई महाधिवेशनको बन्द सत्र हलले सर्वसम्मतले पारित ग¥यो ।
७. १७ पुस २०७८ मा पार्टी स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिनुभयो । पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्ने, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने, पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने सहितको विधानलाई महाधिवेशन हलले सर्वसम्मतले पारित ग¥यो ।
८. १७ पुस २०७८ दिउँसो मतदाता नामावली प्रकाशन गरेर निर्वाचन आयोगले केन्द्रीय कमिटी सदस्यका निर्वाचन प्रक्रिया सुरु ग¥यो । महाधिवेशन आयोजक कमिटीलाई महाधिवेशनले केन्द्रीय कमिटीको सहमतिको सूची ल्याउने जिम्मेवारी प्रदान ग¥यो ।
९. १८ पुस २०७८ मा महाधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुको नाम प्रस्तुत ग¥यो । तीनवटै आयोगका यसअघिका पदाधिकारी र सदस्यहरुको नामलाई महाधिवेशनले अनुमोदन गरेको हो । पार्टीको केन्द्रीय अनुशासन आयोगको प्रमुखमा क. टंक राई, निर्वाचन आयोग प्रमुखमा क. विष्णुपुकार श्रेष्ठ र लेखा आयोगको प्रमुखमा क. पेशल खतिवडा हुनुहुन्छ ।
१०. पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव क. श्रीराम ढकालले आठौं राष्ट्रिय महाधिवेशनको आय व्यय प्रस्तुत गर्नुभयो ।
११. बन्द सत्रमा स्थायी कमिटी सदस्य क. गिरिराजमणी पोखरेलले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभयो । समसामयिक प्रस्तावलाई महाधिवेशनले सर्वसम्मत पारित गरेको छ ।
१२. पार्टी अध्यक्ष क. प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गर्नुभयो । अध्यक्ष क. प्रचण्डले प्रस्तुत गर्नुभएको केन्द्रीय सदस्यहरुको नाम महाधिवेशनले सर्वसम्मतले पारित ग¥यो ।
१३. अध्यक्ष क. प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यहरुको नामावली बन्द सत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख क. विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावलीहरु नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
१४. नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट पार्टीका निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य क. प्रचण्डले महाधिवेशनलाई संक्षिप्त संबोधन गर्नुभयो । उहाँले विधान बमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरु चयन गर्ने जानकारी गराउनुभयो ।
१५. अध्यक्ष मण्डलका अध्यक्ष क. कृष्णबहादुर महराले महाधिवेशनको बन्द सत्र सम्पन्न भएको घोषणा गर्नुभयो । यससँगै ११ पुस २०७८ मा सुरु पार्टीको आठौं राष्ट्रिय महाधिवेशन विधिवत रुपमा सम्पन्न भयो ।
१८ पुस, २०७८
प्रचार तथा प्रकाशन उपसमिति
आठौं राष्ट्रिय महाधिवेशन, नेकपा (माओवादी केन्द्र)
न्युज कारखाना