काठमाडाैं- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने भएका छन्। निर्वाचन आयोगले जारी गरेको चुनावी कार्यतालिकाअनुसार राष्ट्रिय सभामा रिक्त १९ पदका लागि आज उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।
आयोगले उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने सम्बन्ध सबै तयारी गरिसकिएको जनाएको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्नुपर्छ। निर्वाचन भने माघ १२ मा हुनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा दलहरूले भाग लिने भएका छन्। आयोगले दिएको समयमा ती दलहरूले पार्टी दर्ता गरेका थिए। आउँदो फागुन २० मा २० जना राष्ट्रिय सभा सदस्यकै पदावधि सकिँदैछ। २० मध्ये १९ पदका लागि माघ १२ मा निर्वाचन हुन लागेको हो भने एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने हो।
नेकपा एमालेबाट ८, नेकपा माओवादी केन्द्रबाट ४, एकीकृत समाजवादीका ४ र नेपाली कांग्रेसका ३ जना राष्ट्रिय सभा सदस्यको पदावधि फागुनमा सकिँदैछ। ती पदहरूमा नै अहिले निर्वाचन गर्न लागिएको हो। सत्तारूढ ५ दलले यी पदहरूमा भागबन्डा गरेर उम्मेदवार उठाउने भएका छन्।
जसअनुसार कांग्रेसले ६, माओवादी र नेकपा एकीकृत समाजवादीले पाँच/पाँच, जसपाले २ र राष्ट्रिय जनमोर्चाले एक पदमा उम्मेदवारी दिने भएका छन्। रिक्त १९ वटै पदमा नेकपा एमालेले पनि उम्मेदवारी दिने भएको छ। दलहरूले आफ्नो तर्फबाट उम्मेदवारको तय गरेका छन्। माओवादीले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।
राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो। निर्वाचन चिह्न प्रदान भएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले योजना बनाएको छ।