काठमाडाैं- रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानमा राज्यले कमी गरेको गुनासो गरेको छ।
यही पुस २७ गते पृथ्वीनारायणको जन्मजयन्ती र एकता दिवस आउँदै गर्दा यो पार्टीले सरकारसँग विभिन्न चारवटा माग अघि सारेको हो।पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार एक विज्ञप्ति निकालेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’का रुपमा मनाउन पनि प्रस्ताव गरेका छन्।
‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाइयोस्। संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ’, यो पार्टीले भनेको छ, ‘नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो।’
विवेकशील साझाले संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित नहुने पनि बताएको छ। ‘संसारका कोही पनि राष्ट्र निर्माता विवादरहित छैन। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन’, विज्ञप्तिमा भनिएकाे छ, ‘उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।’
साझाले राप्रपाले झैँ राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिनुपर्ने माग पनि गरेको छ। ‘राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्याउँछौ’, उसले भनेको छ, ‘अनावश्यक रूपमा अनेकौँ बिदा दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो।’
प्रवक्ता पाठकले नेपाली रुपैयाँमा पृथ्वीनारायणको तस्बिर अंकित गर्न र सरकारी कार्यालयमा पनि राख्न माग गरेको छ। ‘नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस्। हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्याउन चाहन्छौँ’, पाठकले भनेका छन्।
विवेकशील साझाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर पुस २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ।
उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य गरिने पाठकले बताएका छन्। ‘उक्त यात्रामा जहाँ, जसरी सम्भव हुन्छ, सहयोग र सहभागिताका लागि सम्पूर्ण नेपालीहरूमा विवेकशील साझा पार्टी हार्दिक अपिल गर्दछ’, पाठकले थपेका छन्।