काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापतिको ‘लाइक र डिस्लाइक’ बाट व्यक्ति छनौट भए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।
काठमाडौंको बसेरा होटलमा समूहको भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्यको मनोनयनमा सभापति शेरबहादुर देउवाले मनोमानी गरेको आरोप लगाउँदै यस्तो बताएका हुन्।
‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?,’ उनले भने।
उनले केन्द्रीय सदस्यको मनोनयनमा सभापति देउवाले मापदण्ड नअपनाएको आरोप लगाए। पार्टीमा न्यायोचित अवसरको वितरण नहुँदा कार्यकर्ता किन कांग्रेसमा बस्ने भनेर उनले प्रश्न गरेका छन्।
‘पार्टीमा सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ। नियुक्ति पाउनुभएका सबै साथीहरू सक्षम र योग्य नै हुनुहुन्छ,’ उनले भने, ‘तर के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको होरु हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन जरूरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्छ।’
समूहको भेलामा कोइरालाले सभापति देउवाविरूद्ध मोर्चाबन्दीको संकेत पनि गरेका छन्। विधि र विधानसगत निर्णयका लागि आवाज उठाउन आग्रह गर्दै उनले देउवाविरूद्ध मोर्चाबन्दीको संकेत गरेका हुन्।
‘मलाई थाहा छ। हामी पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन सक्दैनौं होला। तर पार्टीभित्र हुने सबै कार्यहरू न्यायसंगत,विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौं। यी विषयहरूमा हामी आवाज उठाउन सक्ने कि नसक्नेरु मलाई लाग्छ हामी सक्छौं।’
कोइरालाले पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरू असहज हुनसक्ने भन्दै सचेत गराएका छन्।