काठमाडौँ- २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले खुशी भएका छन् ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् ।
जग्गाहीनहरुले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुशी देखिन्छन् । भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम यूएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिव ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको हो ।
अझै पनि गोरखामा भूकम्पबाट भत्किएका साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्न सके गोरखाको मुहार फेरिने स्थानीयहरुको भनाइ छ । ३ लाखमा सरकारले बनाइदिएको घरमा अहिले आनन्द महशुस गरिरहेको उनीहरु बताउँछन् ।
गोरखा नगरपालिका-१३, का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश कामहरु सकिएको र केही विद्यालय तथा साँस्कृतिक सम्पदाका कामहरु बाँकी रहेको बताए।
उनले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घरहरु पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ दिए पनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो गरे।
आवास पुनर्निर्माणपछि स्थानीयहरु रोजगारी सिर्जना भएको र काम सिक्ने अवसरले आफ्नो आर्थिक स्थितीमा सुधार भएको बताउँछन् । यूएनडिपीले आफ्नै विज्ञ इन्जिनियरहरुबाट गाउँ गाउँमा पुगेर भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको र त्यो सीपले नै आफ्नो र परिवारको आर्थिकस्तर बढ्दै गएको उनको भनाइ छ ।
उक्त तालिम महिला र पुरुष दुवैले पाउँदा महिलालाई पनि समान अधिकार मिलेको उनीहरुको भनाइ छ । आवास निर्माण साथी डम्बरबहादुर सुनार, घर बनाउन मात्र नभएर आफूले भूकम्पबाट पीडित र त्रसित गोरखावासीलाई सम्झाउन पाएकोमा निकै खुशी लागेको महशुस गर्छन् ।