गाेरखा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गाेरखामा कांग्रेसको उम्मेदवार ‘कांग्रेस’ नै हुने बताएका छन् । शुक्रबार गोरखा कांग्रेसले आयोजना गरेकाे अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले आम चुनावसम्म सत्ता गठबन्धन कायमै रहने तर, चुनाव एक्लै लड्ने बताएका हुन् ।
थापाले २०७४ मा कांग्रेसले समर्थन गरेर निर्वाचित भएका डा.बाबुराम भट्टराईको प्रसंग उठाउँदै भने, ‘कांग्रेसकै सहयोगमा चुनाव जितेर जानेले उल्टै कांग्रेसलाई संग्रहालयमा लगेर राख्नुपर्छ भनेर भने । अब कांग्रेसको उम्मेदवार कांग्रेस नै हुन्छ । त्यसको लागि जित्ने गरी अहिले नै तयारी गर्नुस् ।’ गोरखा-२ मा कांग्रेसको उम्मेदवार अरु पार्टीको प्रतिनिधि नहुने र कांग्रेसी नै उम्मेदवार बन्ने उनकाे तर्क थियाे।
सरकार टिकाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको भन्दै उनले आमचुनावसम्म गठबन्धनकाे सरकार निरन्तर रहने बताए । उनले चुनावमा भने गाेरखा-२ मा पार्टीले आफ्नै उम्मेदवार तय गर्ने बताए। ‘अहिलेको गठबन्धनलाई चुनाव हुने बेलासम्म टिकाएर जान्छौं,’ उनले भने, ‘हामी संविधानलाई तलमाथि हुन दिन्नौं। संसदको गतिरोध अन्त्य गर्छौं। अदालत र अर्थतन्त्र ठिक ठाउँमा ल्याउँछौं। पार्टीलाई विधान अनुसार चलाउँछौं।’
उनले पार्टी नेता कार्यकर्तालाई विधान अनुसार गतिविधि गर्न निर्देशन दिए । बैशाखमा हुने स्थानीय तहको चुनावलाई लक्षित गरि वडाको तल्लो तहसम्म गतिविधि अघि बढाउन उनले जाेड दिए । तर पार्टीका नेता जित्ने सुनिश्चित गर्नका लागि अहिलेदेखि नै मेहनतका साथ काम गर्नुपर्ने बताए।
‘तीन महिनापछि स्थानीय चुनाव हुन्छ। अब पहिलेजस्तो हुन्न, एक महिना पहिले नै उम्मेदवार तय हुन्छ,’ उनले भने, ‘ढिलो गरी उम्मेदवार तय गर्ने पहिलेको जस्तो यसपालि हुन्न।’
भिडियाे