काठमाडाैं- कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन स्मार्ट लकडाउन गर्नेबारे कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा छलफल भएको छ।
शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सीसीएमसी बैठकमा स्मार्ट लकडाउनबारे छलफल भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए।
बैठकमा कोभिड भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा छलफल भएको उनले बताए।
संक्रमितहरुको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए। बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
आफू संयोजक रहेको सीसीएमसी बैठकमा प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन र संक्रमितहरुको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्
त्यस अवसरमा उनले यसको संक्रमण दर बढन नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन र संक्रमितहरुको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराए।