काठमाडौं– विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समिति भंग गरिएको छ। पार्टीभित्र विवाद बढिरहेका बेला अन्तर्राष्ट्रिय समिति भंग गरेर अध्यक्ष रवीन्द्र मिश्रसँगको सम्बन्ध विच्छेद गरिएको जनाइएको छ।
अन्तर्राष्ट्रिय सद्भाव समितिका संयोजक सुरेश भट्टले विज्ञप्ति जारी गर्दै ‘व्यवस्था हैन, अवस्था परिवर्तन’लाई राजनीतिको मूल ध्येय बनाएर एक दशकदेखि विवेकशील आन्दोलन हुँदै स्थापित विवेकशील साझा पार्टीलाई अस्वाभाविक हिसाबले व्यवस्था विरोधी, संविधान विरोधी, परिवर्तन विरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तन विरोधी पार्टीको रूपमा चित्रित गर्ने काम गरेको भन्दै मिश्रको कदमप्रति भर्त्सना गरेका छन्।
‘असहज परिस्थितिमा समेत विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भई बनेको विवेकशील साझा पार्टीमार्फत वैकल्पिक राजनीतिलाई नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै राप्रपामा मिसिनका लागि ‘बार्गेनिङ टुल’को रूपमा पार्टीलाई दुरुपयोग गरेकोमा गम्भीर विमति र आपत्ति व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यही विज्ञप्तिमार्फत विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रवीन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत समूहसँग सम्बन्ध विच्छेद् गरेको घोषणा गर्दछौँ।’
पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरी नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिन्ह र पहिचान प्रयोग नगर्न चेतावनी पनि दिइएको छ।
विवेकशील साझा अन्तर्राष्ट्रिय समिति भङ्ग तथा पार्टी विरोधी मिश्र समूहसँग सम्बन्ध विच्छेदको घोषणा
‘व्यवस्था हैन, अवस्था परिवर्तन’लाई राजनीतिको मूल ध्येय बनाएर एक दशक देखि विवेकशील आन्दोलन हुँदै स्थापित विवेकशील साझा पार्टीलाई अस्वाभाविक हिसाबले व्यवस्था विरोधी, संविधान विरोधी, परिवर्तन विरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तन विरोधी पार्टीको रूपमा चित्रित गर्ने रवीन्द्र मिश्रको दुष्प्रयासप्रति विवेकशील साझा अन्तर्राष्ट्रिय समिति घोर भर्त्सना गर्दछ।
असहज परिस्थितिमा समेत विवेकशील नेपाली दल र साझा पार्टीबिच एकीकरण भई बनेको विवेकशील साझा पार्टी मार्फत वैकल्पिक राजनीतिलाई नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै राप्रपामा मिसिनको लागि ‘बार्गेनिङ टुल’को रूपमा पार्टीलाई दुरुपयोग गरेकोमा गम्भीर विमति र आपत्ति व्यक्त गर्दछौँ।
साथै, यही विज्ञप्ति मार्फत विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रवीन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत समूहसङ सम्बन्ध विच्छेद्य गरेको घोषणा गर्दछौँ। तथापि, वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट सङ्गठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहरुसँगै अन्तर्राष्ट्रिय समिति समेत भङ्ग भएको घोषणा गर्दछु।
पुनश्च: पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरी नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिन्ह र पहिचान प्रयोग नगर्न सचेत गराउँदछौँ। पार्टीका सद्भाव समूहहरू तथा अन्तर्राष्ट्रिय समिति भङ्ग भए पनि पुनः नयाँ तरिकाले प्रवासी नेपालीहरूको हकहितका लागि प्रवासमा रहेका वैकल्पिक राजनीतिका शुभेच्छुकहरू सङ्गठित हुने नै हुँदा यस निर्णयबाट न आत्तिन र पुनः वैकल्पिक राजनीतिको मूल-बाटोमा सङ्गठित हुन हार्दिक अपिल गर्दछु। आगामी दिनमा प्रवासी नेपालीलाई मताधिकार दिलाउन ‘नोट चल्ने, भोट नचल्ने?’ अभियानलाई तीव्रता दिनेछौँ र प्रवासी नेपाली समुदायसँग सधैँ उभिनेछौँ।
सुरेश भट्ट
संयोजक
विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समिति
२४ पौष २०७८