काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रायः भाषणमा आफ्नो भावी योजना सुनाउने शब्द हो–आगामी चुनावपछि दुई तिहाइ मतका साथ बाजागाजासहित मूल ढोकाबाटै फेरि सिंहदरबार प्रवेश गर्ने । दुई तिहाई मतका साथ फेरि सिंहदरबार फर्कने बिगुल फुक्दै हिँडेका ओलीलाई पहिलो गाँसमै ढुंगा लागेको छ ।
ओलीलाई मूल नेतृत्व मान्न एमालेका सबै नेता कार्यकर्ता तयार छन् । तर ओलीको पाउमा को बढी झुक्ने भन्ने प्रतिष्पर्धा बढ्दा पार्टीभित्र विवाद भुसको आगोझैं फैलिरहेको छ । हालै चितवनमा केन्द्रीय महाधिवेशन सम्पन्न गरेको एमालेमा असन्तुष्टिको पहिलो आवाज त्यहिंबाट शुरु भएको थियो ।
पार्टीलाई संकट परेका बेला साथ दिएका नेताहरुलाई केन्द्रीय कमिटीमा नल्याइएको असन्तुष्टि लिएर फर्किएकाहरुलाई अहिले फेरि पेल्ने नीति लिइएपछि बाजागाजासहित सिंहदरबार फर्कने उद्घोष गरेका उनको योजनामाथि कालो बादल मडारिन थालेको छ ।
देशभरका अधिकांश जिल्लामा सर्वसम्मतिले नेतृत्व चयन गरिएको भनिए पनि ओलीलाई नै मुल नेता मान्नेबीचका गुटको अस्वभाविक प्रतिष्पर्धा देखिन्छ । केही ठाउँमा सहमतिका नाममा पेलेरै नेतृत्व चयन गरिएको भन्दै असन्तुष्टि चुलिएको मात्रै हैन विष्फोटको अवस्था नै देखिएको छ ।
पार्टी केन्द्रले नै सकेसम्म सहमतिमै नेतृत्व छान्न दिएको निर्देशनले नेकपा एकताका समयमा जोडिएका पूर्व माओवादी खेमाबाट आएका नेताहरुको व्यवस्थापन तथा १० बुँदे सहमति गरेर आएका नेताहरुको भावनाको कदर गर्ने आशा निराशामा परिणत हुँदैछ ।