काठमाडौं– राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ। आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले दलहरुसँग छलफलका लागि शुक्रबार बैठक बोलाइएको जानकारी दिए।
‘स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक डाकेका हौं,’ उनले भने, ‘शुक्रबार साढे ११ बजे बैठक बस्दैछ।’
बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको छ। निर्वाचन आयोगले आगामी माघ १२ हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा दलहरुसँग छलफल गर्नेछ।
अहिले मतदाता नामावली संकलनको काम भइरहेका विषयमा पनि सर्वदलीय बैठकमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको छ।
त्यस्तै स्थानीय तहको निर्वानको मिति तय गर्ने विषयमा पनि छलफल हुनेछ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो। तर, यस बारेमा सरकारले निर्णय गरिसकेको छैन।
सरकारले निर्वाचनको मितिका बारेमा निर्णय गरेमा निर्वाचन आयोगले थप आवश्यक तयारी अघि बढाउने जानकारी गराइसकेको छ।
पाँच दलीय गठबन्धनको सरकारमा निर्वाचनका विषयमा आवश्यक छलफल अहिलेसम्म हुन सकेको छैन। यसअघि २०७४ वैशाख र असार गरेर दुई चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।