काठमाडाैं- नेपालमा गएको २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १५ हजार १३१ नमूना परीक्षण गर्दा ४९६१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज ४३५ जना डिस्चार्ज भएका छन्। यस्तै, ३ जनाको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ६८० छन्। आज होम आइसोलेसनमा २४ हजार ५८४ र संस्थागत आइसोलसनमा १ हजार ९६ जना रहेका छन्।
नयाँ संक्रमित मध्ये दुई तिहाइ भन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् । मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो । १२,५६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४,५३४ र २,५६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ ।
नयाँ संक्रमित मध्ये ३,३४७ जना काठमाडौं उपत्यकाका हुन् । यो संख्या आइतबार पहिचान भएका कुल संक्रमित ४,९६१ दुई तिहाइभन्दा बढी हो । उपत्यकामा पनि सबभन्दा धेरै काठमाडौंका छन् । काठमाडौंमा २,५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् ।