काठमाडाैं- प्रदेश २ को नाम मधेश प्रदेश दुई तिहाइ बहुमतले पारित भएको छ। मधेश प्रदेश प्रदेश सभामा तीन दलकाे संयुक्त प्रस्ताव थियाे।
जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)को प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो।
प्रदेश २ सभामा हाल कायम १ सय ४ जना सांसद मध्ये ९९ मत खसेको थियो, जसमा मधेश प्रदेशको पक्षमा ८० मत खसेको छ।
नामको लागि चारवटा प्रस्ताव भएका थिए। नेकपा (एकीकृत समाजवादी) ले जानकी प्रदेश, कांग्रेसले मिथिला भोजपुरा प्रदेश र कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका गरेका थिए।
यस्तै, आजकै बैठकमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम पनि दुई तिहाइ मतले पारित भएको थियो। पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।
प्रदेश २ को राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीन वटा बनाएको थियो, जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।
स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुनेछ ।