काठमाडाैं- के तपाईँ अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ? त्यसका लागि चार्जिङ सिष्टम कसरी जडान गर्ने, बिल कसरी तिर्ने जिज्ञासा पनि स्वभाविक हो।
नेपाल विद्युत् प्राधिकरणले अब विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिका लागि आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने व्यवस्था गरेको छ।
घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन्।
प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो। प्राधिकरण सञ्चालक समितिको गत २० पुसको ८९२औँ बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् सेवा छिटो, सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउन र विद्युत् खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत् वितरण विनियमावली कार्यान्वयमा ल्याइएको जानकारी दिए।
‘विगतमा लोडसेडिङको अवस्थामा हरेक कुरामा प्रतिबन्ध लगाउन खोजिएको थियो, अहिले लोडसेडिङ अन्त्य भई मुलुकभित्र उत्पादित विद्युत् यही खपत बढाउनुपर्ने बाध्यात्मक अवस्था छ’, उनले भने, ‘यसलाई ध्यान दिई ग्राहकलाई माग बमोजिम छिटोभन्दा छिटो भरपर्दो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने र विद्युत् खपत बढाउने गरी नयाँ विनियमावली कार्यान्वयनमा ल्याएका छौ।’
बिजुलीको खपत बढाउन विद्युत् महसुल घटाउँदै लगेको छ। सेवालाई पनि सहजीकरण गरी ग्राहकमैत्री बनाउन अधिकतम प्रयास गरिरहेको छ।