काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी दुई पटक चुनाव घोषणा गर्न लगाउँदा सबैभन्दा विरोधमा उत्रिएका थिए- प्रचण्ड ।
उनले आवधिक चुनावमै जोड दिएका थिए । तर, अहिले प्रचण्ड आफैले प्रतिनिधि सभाको चुनाव ७ महिना अगावै वैशाख २०७९ मा गर्ने प्रस्ताव ल्याएर राजनीतिक तरंग ल्याइदिएका छन् । आखिर प्रचण्ड किन चुनावका लागि तयार भएका छन् । चुनावमा सफलता हासिल गर्ने नदेखी उनी यसरी कदापि प्रस्तुत हुँदैन थिए ।
प्रचण्डले सत्ता गठबन्धन मिलेर चुनाव लड्नेबारे समेत छलफल बढाएको बुझिएको छ । प्रत्यक्षतर्फको १६५ सिटमा नेपाली कांग्रेस र गठबन्धनका बाँकी दलबीच गठबन्धन बनाएर चुनावमा जाने सम्भावना पनि छ । यसरी चुनावमा गएर एमालेलाई नराम्रो धक्का दिने पूर्वअभ्यासहरु राष्ट्रियसभा निर्वाचनमा भइसकेको छ ।
पूर्वमाओवादीलाई एक बनाउने गरी प्रचण्डले ठूलै गृहकार्य गरे । उनले यसमा निकै सफलता हासिल गरेको बुझिएको छ । चुनाव अगाडि पूर्वमाओवादीको औपचारिक या अनौपचारिक एकतामा परिणाम नै आउने बुझिएको छ ।
चुनावमा पूर्वमाओवादीका रुपमा चिनिएका बाबुराम भट्टराई, उपेन्द्र यादव, विप्लवलगायतबीच एकताको सम्भावना पनि छ । यो शक्ति एक बनाएर नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनावमा जानेबारे समेत छलफल अगाडि बढेको छ ।
माओवादी र एकीकृत समाजवादी मिलेर चुनावमा जाने सम्भावना छ । यसकारण पनि प्रचण्ड ढुक्क छन् । आगामी चुनावमा कम्तिमा पूर्वमाओवादी र समाजवादीको समूह मिलेर चुनावमा जाने भएकाले प्रचण्ड उत्साही भएको बुझिएको छ ।
सत्ता र शक्तिमा रहेकाले प्रचण्डले यसको भरपूर अभ्यास गरिरहेका छन् । अर्थ, ऊर्जा, शिक्षा र भूमिसुधार जस्ता महत्वपूर्ण मन्त्रालय माओवादीको हातमा छ । सत्तामा रहनु, रणनीतिक चार्तुयता देखाउनसक्नु, विभिन्न शक्तिसँग संगठित हुने माहोल तयार गर्नुले पनि प्रचण्ड चुनावका लागि हतार गर्न थालेका छन् ।