काठमाडौं- नेकपा एमालेमा अबको केही दिनमै ठूलो पहिरो जाने भएको छ । लामो समय माधव नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।
पार्टी अध्यक्ष केपी ओलीले व्यवहार परिवर्तन नगरेको र आफूहरुको राजनीतिक भविश्य समाप्त हुन खोजेको निष्कर्ष निकालेका उनीहरुले नयाँ दल दर्ता गरेर नयाँ ढंगको राजनीति सुरु गर्न खोजेका हुन् ।
नयाँ पार्टीको नेतृत्वमा घनश्याम भुसाल, भीम रावललगायत नेताहरु रहनेछन् । नयाँ पार्टी दर्ताका लागि आवश्यक तयारीहरु भइरहेको र अबको केही दिनमै निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने उनीहरुको तयारी छ ।
रावल नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार दिए । तर उनी ओलीसँग पराजित भए । पदाधिकारीमा पराजित भएकाहरु स्वतः केन्द्रीय सदस्य बन्न पाउने प्रावधान रहेको भए पनि पनि रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे ।
यस्तै नेता घनश्याम भुसाल पनि पदाधिकारीमा उम्मेदवार भएर पराजित भएका हुन् । उनले भने केन्द्रीय सदस्य स्वीकार गरेका छन् ।
केही दिनअघि भुसाल र रावलले एमाले छाड्न खोजेको चर्चा चुलिएको थियो । स्रोतका अनुसार उनीहरुले एमाले त्यागेर नयाँ दल दर्ता गर्न लागेका हुन् ।