गोरखा– गोरखाका ११ स्थानीय तहमा महिलाको भन्दा पुरुषको जनसंख्या न्युन रहेको पाइएको छ ।
बुधबार सार्वजनिक गरेको भएको नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्याङक अनुसार जिल्लाका सवै स्थानीय तहमा महिलाको तुलनामा पुरुषको जनसंख्या थोरै रहेको पाइएको हो । जनगणना अनुसार जिल्लाको आरुघाट गाउँपालिकामा महिला ११ हजार ४६७, पुरुष १० हजार ४०९ रहेको पाइएको छ ।
अजिरकोट गाउँपालिकामा महिला ६ हजार ६१३ रहेको छ भने पुरुष ६ हजार ३८९, भीमसेन थापा गाउँपालिकामा महिला ९ हजार २९९, पुरुष ७ हजार ८१९, चुमनुव्री गाउँपालिकामा महिला ३ हजार ५४९, पुरुष ३ हजार २४० जना रहेको प्रारम्भिक तथ्याङकमा उल्लेख छ ।
त्यस्तै धार्चे गाउँपालिकामा ७ हजार ५३८ जना महिला, ७ हजार २५ जना पुरुष, गण्डकी गाउँपालिकामा ११ हजार २४८ जना महिला, १० हजार ४१४ जना पुरुष, गोरखा नगरपालिकामा २८ हजार ६ जना महिला, २५ हजार २७९ जना पुरुष, पालुङटार नगरपालिकामा १९ हजार ८४३ जना महिला र १७ हजार ४३१ जना पुरुष रहेको प्रारम्भिक तथ्याङकमा जनाइएको छ ।
त्यस्तै सहिद लखन गाउँपालिकामा ११ हजार ९३७ जना महिला, १० हजार ४९२ जना पुरुष, सिराचोक गाउँपालिकामा १० हजार ४७७ जना महिला। ९ हजार ३५२ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकामा १२ हजार ३०१ जना महिला र १० हजार ९२१ जना पुरुष रहेको जनाइएको छ ।
गोरखा नगरपालिकामा धेरै, चुमनुव्रीमा कम
जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै जनसंख्या गोरखा नगरपालिकामा र सबैभन्दा कम हिमाली क्षेत्रको चुमनुव्रीमा रहेको छ । गोरखाको जनसंख्या ५३ हजार २८५ रहेको छ भने चुमनुब्रीको ६ हजार ७८९ रहेको छ । पालुङटारको जनसंख्या ३७ हजार २७४ रहेको छ ।
बारपाक सुलीकोटमा २३ हजार २२२, शहीद लखनमा २२ हजार ४२९, आरुघाटमा २१ हजार ८७३ र गण्डकीमा २१ हजार ६६२ जनसंख्या रहेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै सिरानचोकमा १९ हजार ८२९, भीमसेन थापामा १७ हजार ११८, धार्चेमा १४ हजार ५६३ र अजिरकोटमा १३ हजार २ जनसंख्या रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
जिल्लाका कुल जनसंख्याको १.०६ प्रतिशत अर्थात २३ हजार ३५ जना बिदेश रहेको कार्यालयले जनाएको छ । तीमध्ये १९ हजार पुरुष र ४ हजार ३५ महिला छन् । गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जिल्लामा जनगणना भएको थियो । जनगणनाका लागि जिल्लाभर चार सय गणक खटिएका थिए ।