काठमाडाैं- नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले राष्ट्रिय सभा सदस्यको निर्वाचन नेकपा एमालेको हारको सुरुवात मात्र भएको बताएका छन्।
‘अल्पज्ञानीहरूलाई के थाहा– यो हार भर्खर सुरु भएको छ र यो हारको शृंखला निरन्तर अघि बढ्ने छ’, नेता चौधरीले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘अबदेखि नेकपा एमाले र विजयको बीचमा कहिल्यै भेट हुनेवाला छैन। नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाउने छैनन्। २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भावी सन्ततिहरूलाई सपनाजस्तै लाग्नेछ!’
नेता चाैधरीले राष्ट्रिय सभाकाे निर्वाचनमा एमालेले पनि गठबन्धन गरेकाे दाबी गरेका छन्। उनले प्रतिगामी गठबन्धनकाे उपमा दिएका छन्।
उनले लेखेका छन्, ‘प्रतिगामी गठबन्धन (नेकपा एमाले, जसपा (महन्थ ठाकुर) र राप्रपाबीचको गठबन्धनको शर्मनाक हार भएको छ। ’
चुनावी मोर्चामा उभिइसकेपछि मुख्य कुरा जित्नु भएकाे उल्लेख गर्दै नेता चाैधरीले एक्लै होस् या मिलिजुली मिलेरै – मिलाएरै जित्ने हो भनेका छन्।
‘हामी दैनिकजस्तो किन एक्लिरहेका छौं? सरकारको नेतृत्वबाट प्रतिपक्षीको भूमिकामा कसरी झर्न पुगिम्’, उनले भनेका छन्, ‘के यो विषयमा कहिले सिंहावलोकन गरेका छौं? तिम्रा यिनै घमण्डको कारण आज विचरा भएका छौ।’