काठमाडौं- पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।
पछिल्लो पटक संविधानसँग बाझिएका कानून संशोधनको दाबी गरेको गठबन्धनको बैठक स्थानीय तहको चुनाव कहिले गर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएकाे छ।
बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री सरकारी निवास (बालुवाटार) मा सुरु भएकाे हाे। बैठकमा जनमोर्चाका प्रतिनिधि भने सहभागी छैनन्।
एक नेताका अनुसार बैठकको मुख्य एजेन्डा स्थानीय तह निर्वाचन कहिले गर्ने भन्ने हो। यसअघि पाँच दलीय गठबन्धनले वैशाख वा असारलाई आधार मानेर त्यसको ६ महिनाभित्र चुनाव गर्ने लगभग सहमति जनाइसकेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन् ।
तर, माओवादी र एकीकृत समाजवादी भने पहिले संघको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ ।