काठमाडाैं- सत्तारुढ गठबन्धनका दलहरू मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच संसदबाट पारित गराउने सहमति भएको हो ।
शनिबार साँझको बैठकअघि नै शीर्ष तीन नेताबीच एमसीसीबारे सहमति बनेको बताइन्छ । देउवा, प्रचण्ड र नेपालबीच शुक्रबार बिहान बालुवाटारमा छलफल भएको थियो ।
शनिबार बिहानको गठबन्धन समन्वय समितिको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएपनि समितिको बैठकलगत्तै देउवा, प्रचण्ड र नेपाल छुट्टै छलफलमा बसेका थिए ।
प्रधानमन्त्री देउवाले गत पुस ४ गते बोलाएको सर्वदलीय बैठकमा कांग्रेसबाहेकका दलहरुले यथास्थितिमा एमसीसी पारित गर्न नहुने धारणा राखेका थिए । सोही दिन गठबन्धनले एमसीसीमा बुँदागत छलफल गरेर साझा धारणा बनाउन ३ सदस्यीय कार्यदल बनाएको थियो ।
नेकपा एसका सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । अर्थमन्त्री हुँदा कार्कीले नै नेपालको तर्फबाट एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।