काठमाडाैं- सत्तारूढ गठबन्धनमा रहेका मुख्य दुई दलले स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन्।
गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री देउवामाथि अहिले नै स्थानीय तह निर्वाचनका लागि कम्फर्टेबल वातावरण नरहेको भन्दै पहिले कानुन संशोधन गरेर केही समयपछि निर्वाचनतर्फ अघि बढ्न दबाब बढाएका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।
तर, प्रधानमन्त्री देउवाले भने स्थानीय तह निर्वाचनलाई कुनै पनि बाहनामा धकेल्ने पक्षमा आफू नरहेको प्रस्ट धारणा ती दुई दलका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई दिएका छन् । सो विषयमा तीन नेताबीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १ घण्टा छलफल भएको थियो।
प्रधानमन्त्रीनिकट कांग्रेस नेता मीन विश्वकर्माले कुनै पनि बाहनामा प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचनलाई धकेल्ने पक्षमा नरहेको र सो धारणा गठबन्धनका शीर्ष नेतृत्व तहमा प्रधानमन्त्रीले राखिसकेको जानकारी दिए ।
‘प्रधानमन्त्री अब स्थानीय तहको निर्वाचन कुनै बाहनामा धकेल्ने पक्षमा हुनुहुन्न, जेठभित्रै स्थानीय तहको निर्वाचन हुन्छ, केही प्राविधिक विषय मिलाएपछि मिति तोकिन्छ,’ नेता विश्वकर्माले राजधानीसँग भने ।
तर, सत्ता गठबन्धनमा रहेका मुख्य दुई दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालले भने पहिले निर्वाचनसम्बन्धी बाझिएका कानुन संशोधन गर्न प्रधानमन्त्रीमाथि दबाब दिएका छन् । सो विषयमा भने सरकार तयार भइसकेको छ ।
‘दाहाल र माधवजीहरू हाम्रा लागि अहिले चुनाव कम्फर्टेबल छैन भन्दै हुनुहुन्छ, प्रधानमन्त्रीमाथि चुनाव धकेल्न दबाब छ तर अब जेठबाट उता धकेल्ने सम्भावना छैन,’ विश्वकर्माले अघि भने ।
प्रधानमन्त्री देउवा भने स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै संसद्बाट अमेरिकी सहयोग परियोजना पनि अघि बढाउने तयारीमा छन् । उनले दैनिकजसो सत्तारूढ दलका नेताहरूको बैठकमा एमसीसीको विषयलाई पनि उठाउँदै आइरहेका छन् ।
तर सत्तारूढ दलभित्रकै ती मुख्य दल भने एमसीसी परियोजना कुनै हालतमा स्वीकार गर्नै नहुने अडानमा छन्।