काठमाडाैं- नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन्।
बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाए। ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौँ’, उनले भने, ‘उहाँ विधिसम्मत चल्नुभएन।’
रायमाझीले सभामुखलाई हटाउँदा राम्रो हुने बताए। यद्यपि एमाले नै अघि सरेर सभामुखमाथि महाभियोग लगाउनेबारे नसोचेको उनले बताए।
‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं। सरकारसँग बहुमत छ। एमसीसी फेल वा पास गर्न पनि उहाँहरूसँग बहुमत छ’, उनले भने, ‘सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन। तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ। कांग्रेसले महाभियोग प्रस्ताव ल्याएमा साथ दिन्छौं।’
रायमाझीले एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बहुमतसहित विजय हाँसिल गर्ने दाबी गरे।
‘हामी विगतमा हामी सरकारको नेतृत्वमा हुँदा हामीले गरेका काम लिएर जनतामा जान्छौँ’, उनले भने, ‘एमाले भनेको पुरानो होइन, नेकपापछिको एमाले हो। अहिलेको एमाले परिमार्जित नेकपा हो। एमाले नेकपाकै निरन्तरतामा छ। हामी पनि त्यहाँ छौँ, हामी पार्टी एकताकै निरन्तरतामा छौं।’
एमसीसीबारे मौन
रायमाझीले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे पार्टीले धारणा नबनाएको स्पष्ट पारे। ‘हामी अहिले प्रतिपक्षमा छौं। एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुंगो लगाओस्’, उनले भने, ‘संसद्मा टेबुल भएपछि हामी सोच्छौँ। अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन।’
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा पेश गर्नुपर्ने पनि सुझाव दिए।