गोरखा– सोमबार बसेको मन्त्रीपरिषद् बैठकले २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गर्याे । गत २०७४ बैशाख ३१ मा गोरखासहितका अन्य जिल्लामा स्थानीय तहको निर्वाचन भएको थियो ।
स्थानीय तह निर्वाचन ऐन अनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिदै छ । त्यसका साथै नेपालको संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।
४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको छ ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा गोरखामा १६ वटा राजनैतिक दल सहभागी थिए । सहभागी दलमध्ये नेपाली कांग्रेसले ९ वटा स्थानीय तहमा जित हालिस गरेको थियो भने नेकपा माओवादी केन्द्रले २ वटामा । निर्वाचनमा सहभागि भएका १६ राजनैतिक दल मध्ये अन्यले वडामा मात्रै चित्त बुझाउनु परेको थियो, भने कतिपएले वडामा समेत आफ्नो उपस्थिति बनाउन सकेन ।
जिल्लामा नेकपा (एमाले)को जनआधार बलियो छैन । गत निर्वाचन अघि नेकपा (माओवादी केन्द्र)बाट विभाजित डा. बाबुराम भट्टराईको पार्टीको पनि जनआधार जित्नको लागि प्रायाप्त छैन । भट्रराईको पार्टीमा यतिबेला नयाँ कार्यकर्ताहरुको चाम त्यति छैन ।
पुराना कार्यकर्ताहरु समेत पूर्व माओवादीमा फर्किसकेका छन् । बाबुरामको पार्टीलाई २०७४ सालको स्थानीय निर्वाचनको जति मत नआउने लगभग निश्चित छ । तर २०७४ को निर्वाचनमा माओवादीलाई हराउँनको लागि तत्कालिन नयाँ शत्ति हाल जनता समाजवादी पार्टी (जसपा) को मत प्रयाप्त बनेको थियो । यसरी गणीतिय रुपमा हेर्दा अबको निर्वाचनमा कांग्रेस र माओवादीबिच भिडन्त हुने प्रवल सम्भावना रहेको छ ।
नेताहरुको चुनावी दौडधुप
स्थानीय तहको निर्वाचन जेठमा हुने चर्चापछि जिल्लाका राजनीतिक दलहरूमा एकाएक दौडधुप सुरु भएको छ । जनमत बटुल्न उनीहरू सरकार र अन्य पार्टीको असफल पाटाहरूलाई खोतलेर हतियारका रुपमा प्रयोग गर्न थालेका छन् ।
निर्वाचन पछि गोरखाका कतिपय स्थानीय सरकारले अलमलमानै समय बिताए भने कतिपय शक्ति सन्तुलन तथा जिम्मेवारी बारेमानै अनविज्ञ रहे । कतिपए सरकारी सेवा सुविधाको भोगि बने । जसका कारण ५ वर्षे कार्यकाल फलदायी बन्न सकेन ।
प्रतिपक्षमा बसेर सरकारको कमजोरी र बदमासीलाई अबलोकन गरिरहेका विपक्षी पार्टीका नेता कार्यकर्ताहरूले पनि पार्टीको आन्तरिक समस्याहरु हल गर्न नसक्दा प्रतिपक्षको भुमिका निर्वाह गर्न सकेन । यतिबेला चुनावको मुखमा राजनीतिक दलका कार्यकर्ताहरु एक अर्काको समाजिक सञ्जालमा भण्डाफोर अभियान समेत चलाउन थालेका छन् ।
एकातिर निर्वाचनमा आफूहरूको सहभागीतालाई सुनिश्चित गर्न पार्टीका नेता कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने विषयमा छलफलले तिब्रता पाएको छ भने अर्काेतिर पार्टीको टिकट पाउने दाउपेचले नेताहरूको घरमा भिड देखिन थालेको छ ।
कांग्रेस भित्र नयाँ उम्मेदवारलाई अवसर दिनुपर्ने आजाव चर्कोरुपमा उठेको छ भने, माओवादी भित्र २०७४ मा पराजित उम्मेदवारलाई नै फेरि मलम लगाउँने पक्षमा छ । माओवादी भित्र चर्को लाइन संघर्ष भएकाले कसले टिकट पाउँछ भन्न सक्ने अवस्था छैन ।
पहिलोपटक चुनावमा पराजय भोगेकाहरुको पनि चाम त्यति उज्यालो छैन । पटक–पटक सत्ता प्राप्तिको नाममा नेतालाई पराजयको सिकार बनाउनु हुदैन भन्ने आवाज समेत पार्टी भित्र धमिलो गरि निस्कन थालेको छ ।
यदी बैशाख ३० गते निर्वाचन भएमा अबको ९५ दिनमा निर्वाचन हुने छ । तोकिएकै समयमा निर्वाचन भएमा कतिपय पार्टीमा आन्तरिक कलह उत्कर्षमा छ । एमालेको अधिवेशन भएपनि सदस्यले पूर्णता पाउन सकेको छैन । त्यस्तै माओवादीको पालुङटार नगर कमिटिले पनि पूर्णता पाउने सकेको छैन ।
कांग्रेस भित्र पैसाका आडमा राजनीति गर्ने विचौंलीयाको बिगबिगि बढेको भन्दै निर्वाचनमा टिकट पाउनको लागि पैसाको व्यापार हुने लगभग निश्चित छ । जसको उदाहरणको रुपमा पार्टीको १४औं जिल्ला अधिवेशनको क्रियाकलापहरुलाई लिन सकिन्छ । समग्रमा पार्टीभित्र देखिएका आन्तरिक कलह, गुटबन्दी र प्यानलका कारणले स्थानीय निर्वाचनमा यसको असर ट्डकारो रूपमा देखिन सक्छ ।
कांग्रेस–माओवादीको भिडन्त हुन सक्ने स्थानीय तहहरु
गोरखा नगरपालिका
कांग्रेस भित्र गोरखा नगरपालिकामा धेरै विवाद आउने निश्चित प्राय छ । एक थरी मानिसहरुले गोरखा नगरपालिकाका हालका मेयर राजनराज पन्तलाई टिकट नदिइ कांग्रेस भित्रका नयाँ उम्मेदवार आउने सम्भावना धेरै रहेको अनुमान समेत लगाउन थालेका छन् । तर, उनी कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे निकट भएकाले फेरि पनि उनलेनै टिकट पाउने सम्भावना रहेको नेताहरु दाबि छ ।
त्यस्तै नगरपालिकामा मेयरका लागि पत्रकार महासंघ गोरखाको पूर्व अध्यक्ष समेत रहेका हालका कांग्रेस जिल्ला सचिव किशोरजंग थापाको पनि चर्चा छ । उनले २०७४ को स्थानीय निर्वाचनमा पनि आंकाक्षा व्यक्त गरेका थिए ।
स्थानीय निर्वाचनमा पन्तले ६ हजार ५६० मत पाएका थिए भने उनका प्रतिद्धन्दी माओवादीका कृष्ण रानाले ५ हजार २६ मत ल्याएका थिए । माओवादीबाट राना, गण्डकी प्रदेशका सांसद लेखबहादुर थापामगर र कमला नर्हकीको चर्चा चलेको छ । एमालेका उम्मेद्वार विशेश्वर कट्टेलले ४ हजार २८४ मत पाएका थिए । तर उनी एमाले फुटेपछि नेकपा (एकृकीत समाजवादी) तिर लागेका छन् । अब एमालेले कसलाई मेयरको टिकट दिन्छ हेर्न बाँकी छ ।
याे पनि,
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?
पालुङटार नगरपालिका
कांग्रेसका उम्मेदवार दीपकबाबु कंडेल माओवादीका उम्मेदवार विवश चिन्तन (अजय)संग २७९ मतका साथ मेयरमा विजयी भएका थिए । नयाँ शक्ति पार्टी र माओवादीको टुटफुटको फाईदा उठाँएदै मेयरमा निर्वाचित भएका कंडेल पालुङटार भन्दा प्रदेशतिर जाने खोजेको चर्चासमेत चल्न थालेको छ । यदि माओवादी र जसपा मिलेमा पालुङटारमा कांग्रेस हराउन सकिने स्थानीय नेताको दावी छ । अजयले ४ हजार ४१९ मत पाएका थिए भने नयाँ शक्तिका अशोक देवकोटाले ३ हजार ९७६ मत पाएका थिए । पालुङटारमा एमालेले कसलाई मेयरको टिकट दिन्छ हेर्न बाँकी छ ।
सिरानचोक गाउँपालिका
सिरानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु गुरुङ ३ हजार ४०२ मतका साथ निर्वाचित भएका थिए । उनले माओवादीका नवराज पुडासैनीलाई १६७ मतले हराएका थिए । माओवादीबाट पुडासैनी नै एक्ला उम्मेदवार हुन् । कांग्रेसबाट कसले टिकट पाउँछ भन्न नसक्ने नेताहरु दावी गर्छन् । तर, जानकारहरुका अनुसार यस पटक पनि गुरुङ र पुडासैनीवीच नै टक्कर पर्ने सम्भावना रहेको बताँउछन् । सिरानचोकमा ०७४ को स्थानीय निर्वाचनमा एमाले र नयाँ शक्ति जसपाको उपस्थिति राम्रो थियो । एमाले र नयाँ शक्तिको करिब २/२ हजार मत ल्याएका थिए । जसपाबाट रमेश पोखरेलसमेत अध्यक्ष बन्न चासो राख्दैं आएको बताउँछन् । फेरि अध्यक्षमा एमालेका जिल्ला अध्यक्षसमेत रहेका प्रेमबहादुर गुरुङ अध्यक्षमा फेरी उठ्लान् आम चासाेका रूपमा हेरिएकाे छ ।
अजिरकोट गाउँपालिका
माओवादी केन्द्रका उम्मेदवार दीपक देवकोटालाई ३३१ मतले हराउँदै अजिरकोटको अध्यक्षमा कांग्रेसका फणिन्द्रप्रसाद धिताल निर्वाचित भएका थिए । कांग्रेस भित्रका पूराना नेताका रुपमा चिनिएका धिताल फेरि पनि गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्ने चासो राख्दैं आएका छन् । कांग्रेसबाट ओमबहादुर गुरुङ, तायाराज गुरुङसमेत लबिङमा छन् । माओवादीका एक्ला उम्मेदवार हुन्–देवकोटा । निर्वाचनमा पराजित भएपछि अजिरकोट क्षेत्रमा धेरै रहेका देवकोटा गाउँपालिकाको अध्यक्षमा विजयी हुने धेरै आशा राखेका छन् । अजिरकोटमा एमालेबाट लीलाबहादुर सुनारसमेत उम्मेदवार बन्ने चर्चा चलेको छ ।
बारपाक गाउँपालिका
माओवादी केन्द्रले जिल्लाका एघार स्थानीय तहमध्ये निर्वाचित भएको स्थानीय तह हो बारपाक–सुलिकोट गाउँपालिका । कांग्रेसका उम्मेदवार इन्द्र कुमार गुरुङलाई १ हजार ६३७ मतका साथ हराएका भट्ट फेरि पनि बारपाकको अध्यक्षको उम्मेदवार बन्ने इच्छा राखेका छन् । एमाले र जसपासमेत राम्रो पकड रहेको बारपाकमा पछिल्लो समय मंगोल अर्गनाईजेशनले संगठन विस्तारसमेत गदैं आएको छ । जातिय मुद्धामा केन्द्रीत रहेदैं राजनीतिमा आएको मंगोलले समेत उम्मेदवार उठाएमा निर्वाचनको हिसाव तलमाथि हुने आंकलन समेत गरिएको छ ।
चुमनुब्री गाउँपालिका
चुमनुब्री गाउँपालिकामा माओवादीले पहिलाे पटक अध्यक्षमा महिला उम्मेदवार उठाउने सम्भावना धेरै रहेकाे जानकारहरू बताउँछन् । गाउँपालिका उपाध्यक्ष रहेकी कुमारी गुरूङ माओवादीबाट गाउँपालिका अध्यक्षका लागि बलियाे उम्मेदवार हुन् । २०७४ काे निर्वाचनमा कांग्रेसका धन वहादुर गुरुङले माओवादीका उम्मेदवार माओवादीका लाक्पा ढुनडुप लामालाई ६८ मतले हराएका थिए । कांग्रेसभित्र फेरिपनि कसलाई उम्मेदवार बनाँउछ, चर्चामा छ ।
धार्चे गाउँपालिका
नयाँ शक्तिका गाउँपालिका अध्यक्षका उम्मेदवार लक्ष्मण गुरूङलाई ६९ मतले हराउदैं पालिका अध्यक्षमा कांग्रेसका सन्त वहादुर गुरुङ निर्वाचित भएका थिए । लक्ष्मण पछिल्लो समय माओवादीमा फर्किएपछि उनी नै बलियो उम्मेदवार हुन् । यहाँ पनि कांग्रेस र माओवादीका उम्मेदवारविच कडा टक्कर पर्ने सम्भावना रहेको छ ।
पछिल्लो समय एमालेका प्रदेश सांसद रामशरण बस्नेतको निर्वाचन क्षेत्र भएकाले पनि एमालेले आफ्नो उपस्थिति राम्रो बनाएको दावी गर्नेहरू छन् । स्रोतका अनुसार एमालले यसपटक जित्ने आधार खोज्दै धार्चेमा गाउँपालिका अध्यक्ष उठाउन प्रयास गर्ने दावी छ ।
शहिदलखन गाउँपालिका
शहिदलखन गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका उम्मेदवार कृष्ण बहादुर आलेलाई ४०५ का साथ माओवादीका रेमशबाबु थापा निर्वाचित भएका थिए । याे स्थानीय तहमा पनि कांग्रेस र माओवादीवीच प्रतिस्पर्दा भएकाे थियाे । पछिल्लाे समय एमालेका मनाेज जाेशीकाेसमेत चर्चा चलेपछि अबकाे चुनावी मैदान फरक हुने तर्क हुन थालेकाे छ । माओवादीबाछ थापा, कांग्रेसका आले र एमालेका जाेशीविच चर्काे प्रतिस्पर्दा हुने सम्भावना रहेकाे छ।
आरुघाट गाउँपालिका
जिल्लाका एघार स्थानीय तहमा एमालेकाे बलियाे स्थानीय तह हाे-आरुघाट गाउँपालिका । आरुघाटमा एमालेका उम्मेदवार बक बहादुर लामालाई १३४० मतका साथ पालिका अध्यक्षमा कांग्रेसका पूर्ण वहादुर दाहाल निर्वाचित भएका थिए । माओवादीकाे जनआधार नभएकाे स्थानीय तहका रूपमा हेरिएकाे आरूघाटमा कांग्रेस र एमालेवीच प्रतिस्पर्धा हुने आंकलन गरिएकाे छ।
गण्डकी गाउँपालिका
माओवादीका उम्मेदवार दीपक तिमिल्सिनालाई २८१ मतका साथ पालिका कांग्रेसका हाेमबहादुर राना निर्वाचित भएका थिए । एमाले र माओवादीकाे समेत राम्राे उपस्थिति रहेकाे गण्डकीमा कांग्रेस र माओवादीवीच नै कडा प्रस्तिपर्धा हुने सम्भावना छ ।
भिमसेन गाउँपालिका
भिमसेन गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका इश्वर पाण्डे निर्वाचित भएका थिए । उनले ३ हजार ९४३ मत पाउदैं निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी माओवादीका लाेकप्रसाद बन्जारालाई हराउदै अध्यक्षमा निर्वाचित भएका हुन् । बन्जाराले २ हजार ९८४ मत पाएका थिए । एमालेका सुरेश बाबु श्रेष्ठले १ हजार २५५ र नयाँ शक्तिका चित्रकुमार श्रेष्ठले १ हजार ११४ मत पाएका थिए ।
स्थानीय तह केन्द्रीत गाेरखा सन्देशका श्रृंखला तपाइलाई कस्ताे लाग्याे सल्लाह सुझाव भए egorkhasandesh@gmail.com मा पठाउन सक्नुहुन्छ। अथवा स्थानीय तह केन्द्रीत लेख रचना तथा विचारहरू पनि पठाउन सक्नुहुन्छ । उपलब्ध लेखहरूकाे उचित स्थानका साथ प्रकाशन/प्रकाशरण गरिने छ ।