काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादीहरू एक हुँदै गरेको दाबी गरेका छन्।
आज बिहान आफ्नो निवास (खुमलटार) मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँ हुनुको कुनै विकल्प नरहेको बताए।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्’, प्रचण्डले भने, ‘हामी यति ठूलो परिवर्तनका वाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।’
अहिले बिस्तारै विभाजनका घाउ बिर्सिंदै र देशको वस्तुगत अवस्था मनन गर्दै माओवादीहरू एक ठाउँमा केन्द्रित हुँदै गएको दाबी उनले गरे।
‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं’, उनले भने, ‘हामीलाई कसैले परास्त गर्न सक्दैन।’
अध्यक्ष प्रचण्डले नवप्रवेशी नेता तथा कार्यकर्तालाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए।