काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी स्थानीय तह निर्वाचनमा पनि काठमाडौंमा नेकपा एमाले विजयी हुने दाबी गरेका छन् ।
बिहीबार काठमाडौं महानगरपालिका-२१ गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यासमा बोल्दै उनले पार्टीले जसलाई उम्मेदवार बनाए पनि निर्वाचन जित्ने गरी तयारी अवस्थामा रहेको बताए ।
‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो ।
अर्को भनेको महानगरवासीको चाहना के छ रु त्यो बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं’ उनले भने ।
मेयर शाक्य २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए ।
शाक्यले एमालेले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताएका छन् । उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताएका हुन् ।