काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताएका छन् । उनले आफू त रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे ।
सोमबार आफूले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले भने, ‘मेरो भनाइ के हुन्छ भने म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ ।’
सर्वदलीय बैठकमा एमसीसीका विषयमा के छलफल भयो भन्ने पत्रकारको प्रश्नमा उनले सबैले आआफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताए ।
‘म अलि ओपन माइन्डको छु । मैले सबैका कुरा गम्भीरतापूर्वक सुनेको छु, किनभने म वर्तमानमा सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्नुपर्छ’ उनले भने ।
‘बैठकमा सदनलाई सुचारु गराउने र छलफल अघि बढाउनेबारे कुरा भएको छ। एमसीसीसहितका मुद्दामा सभामुखका हैसियतले स्वतन्त्र निष्पक्ष रुपमा निर्णय गर्नुपर्छ’, उनले भने, ‘अन्तिममा आउने संसदमा नै हो। तर सहमतिका साथ आउनुपर्छ भन्ने कुरा हो। सभामुखका रुपमा म त ‘अम्पायर’ न हो। निर्णायक भूमिका दलहरुकै हुन्छ।’
‘यो बैठकमा सजीव र जीवन्त छलफल भयो। निकै स्तरीय बैठकका रुपमा अनुभूति भएको छ। विपक्षी दलको उपस्थिति भएको भए सायदै यसले एउटा निष्कर्षमा लान्थ्यो’, उनले भने, ‘तर निष्कर्षमा पुगेन। थप पहलका लागि आधार दिएको छ। यो बैठकमा निरन्तर विपक्षीसँग गठबन्धनले छलफल गर्नेछ।’
उनले बैठकमा धेरै कोणबाट छलफल भएको बताए।
‘राष्ट्रिय महत्वका विषयमा आमसहमति बन्दा धेरै राम्रो हुन्छ। सबैले पहल र प्रयत्न गर्ने भन्ने भएको छ। बैठकले संसद सुचारु गर्न गम्भीर बनाएको छ। यो बैठकमा विधेयबारे पनि कुरा भएको छ’, उनले भने, ‘नागरिकता विधेयकबारे कुरा भयो। युवा-युवती र अरुलाई पनि मर्का परेको छ। नागरिक उड्ययन विधेयक, हवाई उड्ययन विधेयक रोकिएका छन्। अन्य तरिकाले पनि सदन सुचारु गर्ने पहल र प्रयत्न गर्छौँ।’