काठमाडौं- अहिले भाइरल बनेको भिडियो छ, बहालवाला पर्यटन मन्त्री प्रेम आलेले बोलेको अपशब्द । अछाम घर भई भारतको मुम्बइमा रहेका जगत ओली नामका युवकसँग कुराकानीको क्रममा मन्त्री आले तथानाम गाली गर्छन् ।
त्यत्तिमात्र होइन ठाउँको ठाउँ त्यहीँबाटै उठाउनेसम्म मन्त्री आलेले धम्की दिन्छन् । सार्वजनिक भएको २ मिनेट २५ सेकेन्डको भिडियोमा मन्त्री आले युवकलाई गाली गलौज र धम्की दिएको सुनिन्छ ।
मन्त्री आले : ‘तपाईंको त्यो कमेन्ट हेरेँ मैले । के लेखेको त्यस्तो ?’
ओली : ‘हैन हजुर,हामीले पनि यस्तो आश गरेका थिएनौँ, के गर्नु ?’
मन्त्री आले : ‘कस्तो आश ?’
ओली : ‘तपाईंबाट यस्तो हुन्छ भन्ने आश लागेको थिएन के ?’
त्यसपछि मन्त्री आले एक्कासी आक्रोशमा आउँछन् र युवकलाई गालीगलौँज गर्छन् । ‘कुन ठाउँमा छस् भन त ?’ भन्दै मन्त्री जँगिदा युवक भन्छन्, ‘आउन त आउ म मुम्बइ छु ।’ मन्त्री आले गालीगलौँज गर्न छाड्दैनन् र धाराप्रवाह गालीगलौँजमा उत्रिन्छन् ।
भिडियो हेर्दा स्वभाविक रुपमा मन्त्री आलेको गल्ती देखिन्छ किनकि राज्यको उच्च ओहोदामा बसेर यसरी गाली गर्न सुहाउने कुरा होइन । जे घटना वा विषय हो त्यसमा संयमता अपनाएर प्रश्न गर्ने ठाउँमा उनी कुनै गुण्डा नाइकेसरी उत्रिएका छन् ।
यो त भयो मन्त्री आलेको दुर्बल पाटो । अब लागौँ फेसबुकमा भिडियो अपलोड गरेर भाइरल भएका युवक जगत ओलीतिर । उनको सामाजिक सञ्जाल फेसबुक चहार्दा उनी विगतदेखि विभिन्न मन्त्री, नेताहरुविरूद्द आक्रमक रुपमा उत्रेर अनेकथरी लेख्ने गर्दै आएका छन् ।
युवकको फेसबुक राम्रोसँग चियाउँदा उनी नेकपा एमालेनिकट भन्ने प्रष्टै बुझिन्छ । एमालेलाई गाली गरेको पटक्कै सुन्न नसक्ने र विरोधमा उत्रिइहाल्ने उनको फेसबुक हेर्दा सजिलै थाहा पाइन्छ । यसरी उनको फेसबुके क्रियाकलाप हेर्दा नियतबश नै मन्त्री आलेलाई पनि खुइल्याउन उनले हर्कत गरेका हुन् भन्ने प्रष्टिन्छ ।
मन्त्री आले र युवकको उक्त भिडियोसँगै थप सामग्रीहरु पनि सार्वजनिक भएका छन् । युवकले मन्त्री आलेसँग एक वर्षसम्म ५० लाख कुरेको तर, रकम उपलब्ध नभएपछि समाचार अपलोड गर्न बाध्य भएको भनेका छन् ।
सार्वजनि भएको म्यासेजको स्क्रिनसट हेर्दा युवकले आफू जगत ओली भएको बताउँदै २४ घन्टाभित्र ५० लाख रकम माग आफ्नो बैंक खातामा पठाउन अल्टिमेटम दिएका छन् ।