काठमाडौं– बालुवाटारमा जारी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बैठक सकिएको छ।
दुई नेताबीच भएको बैठकमा भोलि (बिहीबार) सत्तागठबन्धनका शीर्ष नेताको बैठक बोलाउने सहमति भएको छ।
देउवा–दाहालबीचको बैठकमा यस्तो सहमति भएको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
यो सहमतिसँगै बुधबार प्रतिनिधि सभामा टेबल हुने भनिएको अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता अन्योलमा परेको छ।
यसअघि माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी सम्झौता जबर्जस्ती टेबल गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सो निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका थिए।
आज संसदमा एमसीसी टेबल नगर्ने सहमति
एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ ।
प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने बताइएको छ ।
कांग्रेसले गठबन्धनका दलहरुलाई मनाएर एमसीसी टेबल गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री देउवा पनि बुधबार नै एमसीसी टेबल गर्नेमा अडिग थिए।
यद्यपि, संसदको कार्यसूचीबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ।