काठमाडौं– एमसीसीलाई सदनबाट अनुमोदन गराउने सम्बन्धमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेको हो।
‘आजको बालुवाटार बैठक सकियो। गठबन्धनका शीर्ष नेतृत्वको बैठक भोलि बिहान १० बजे बालुवाटार बोलाइएको छ’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी थिए।
बैठकमा सहभागी माओवादी केन्द्रका नेता श्रेष्ठका अनुसार एमसीसीका विषयमा प्रधानमन्त्री देउवा जसरी पनि टेबल गर्ने तथा अन्य दल संसद् खुल्नुपर्ने अडानमा रहे। त्यसले गर्दा पुन: भाेलि शुक्रबार बस्ने गरी बैठक टुंगिएको उनले जानकारी दिए। बैठक शुक्रबार बिहान ९ बजे बस्ने उनले बताए।
सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमसीसीबारे गम्भीर बहस भएपछि कुनै निष्कर्षमा नपुगेको र भोलि पुनः छलफल हुने बताए ।
‘गम्भीर विषयमा गम्भीर छलफल भयो,’ उनले भने, ‘संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे छलफल भयो । भोलि बिहान बैठक बसेर थप छलफल हुने छ ।’ उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्याउने गरी छलफल हुने बताए।