काठमाडौं– बालुवाटारमा गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्। प्रधानमन्त्री देउवा केही बेरअघि ओली निवास पुगेका हुन्।
गठबन्धनको बैठकलगत्तै देउवा पत्नी आरजुलाई लिएर बालकोट लागेका हुन् । बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन ।
सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी संसदबाट पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद बढाएका थिए।
उता देउवाले आफ्ना प्रतिनिधिका रुपमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाललाई एमाले अध्यक्ष ओलीसँग संवादका लागि बालकोट पठाएका थिए।
स्रोतका अनुसार बिहीबार नै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग टेलिफोनमा कुराकानी गरेका थिए ।
उनले बुधबार बेलुकी एमाले महासचिव शंकर पोखरेलसँग पनि छलफल गरेको स्रोतले दाबी गरेको छ। यद्यपि, यसको आधिकारिक पुष्टि दुवै पक्षले गरेका छैनन्।