काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी धम्कीसामु सरकारले घुँडा टेकेको आरोप लगाएका छन्।
आइतवारको संसद बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव टेबुल हुने भएपछि सभामुखसँग समय लिएर बोल्दै सुवालले यस्तो बताएका हुन्।
‘एमसीसी अमेरिकी धम्कीपछि संसदमा आएको हो। अमेरिकी सहायक मन्त्री डोनाल्ड लू र एमसीसीकी तत्कालीन उपाध्यक्ष सुमारले धम्क्याएपछि आएको हो’, उनले भने, ‘के धम्कीसँग हामी डराउने हो? अमेरिकी मन्त्रीलाई भन्नुपर्छ हाम्रो प्रधानमन्त्रीलाई किन धम्की दिइएको हो?’
उनले एमसीसीलाई अमेरिकी सैन्य मोर्चाको संज्ञा दिएका छन्। ‘यो अमेरिकी सैन्य मोर्चा हो। सही गर्ने मन्त्रीलाई स्पष्टीकरण लिनुपर्छ। कानुनी दफा नहेरी किन हस्ताक्षर गरियो?’, उनले सोधे, ‘एमसीसीले नेपालमा फाँसीवाद र तानाशाह किन ल्याउँदैछ?’
उनले नेपालको कानुनभन्दा माथि हुने गरी तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै आपत्ति जनाए।
‘देश हितविपरीत मन्त्रीलाई किन सहीछाप गर्न पठाएको? सम्झौताको ७ दशमलब १ मा, नेपालको कानुन अनुसार खारेज हुनुपर्छ’, उनले भने, ‘कसरी छ राजनीतिक सहमति? बाबुराम भट्टराईले सुरु गर्दैमा कसरी व्यापक राजनीतिक सहमति भएको भनियो? यो गलत र झुट हो।’
उनले अमेरिका र नेपालको सम्झौतामा भारतको सहयोग किन चाहियो? भनेर प्रश्न गरेका छन्।
‘एमसीसीको लगानी इन्ट्रेस्ट हो। यसले अमेरिकी स्वार्थ अगाडि बढाउने काम गरेको छ’, उनले भने, ‘५० करोडको डलरले सुख हुन्छ? यो पनि झुट हो। हामीले अमेरिकाबाट सिक्नुपर्छ। बेलायतको उपनिवेशको पक्षका एक लाखजनाले अमेरिका छाडेका थिए। एमसीसी सम्झौता गर्नेहरुले होस् पुर्याउनुपर्छ।’