काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्त्वको विषयमा संसदमा छलफल गर्नु उचित हुने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले एमसीसी सम्झौताको नाम नलिई प्रमुख दलका शीर्ष नेताहरू, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, वुद्धिजीवि एवं लब्ध प्रतिष्ठित व्यक्तिले एमसीसी सार्वभौमा संसदमा छलफल होस् भन्ने भावना रहेको बताए ।
‘नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेका हुँदा अहम् महत्वका विषयहरुलाई आजको कार्यसूचीमा समावेश गरिएको छ’ उनले भनेका छन् ।
सभामुख सापकोटाले राष्ट्रिय महत्वको विषयमा छलफल होस् भन्ने मान्यतालाई आत्मसात् गर्दै छलफलको वातावरण बनाउन पनि आग्रह गरेका छन् ।
आइतबार संसद बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले रोस्ट्रम घेराउ गरेका थिए ।
त्यसपछि बैठक अघि बढाउँदै सभामुख सापकोटाले नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङ, नेकपा एमालेका भीम रावल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले बोल्न समय दिए ।
उनीहरुले एमसीसी प्रतिनिधिसभा बैठकमा पेश गर्न नहुने धारणा राखेका थिए ।
त्यसपछि सभामुख सापकोटाले छोटो भनाइ राख्दै एमसीसी राष्ट्रिय महत्वको विषय भएकाले छलफल गर्नु उपयुक्त हुने बताएका हुन् ।
त्यसपछि उनले एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए ।