काठमाडौं– नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने बताएका छन् । माओवादीले दोहोरो चरित्र नदेखाउने पनि उनको दाबी छ ।
काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने निर्णय गरिसकेकोले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको बताएका हुन् ।
उनले भने, ‘पार्टीले सरकारबाट हट्नुपर्छ भन्ने निर्णय गरिसकेको छ । अब कुन दिन हट्ने भन्ने कुरा छिट्टै निर्णय हुन्छ। सरकारमा नरहने भनेर पाार्टीले नीतिगत निर्णय लिईसकेको छ। अब दिनको मात्रै कुरा हो । माओवादीले दोहोरो चरित्र देखाउँदैन् । राष्ट्रिय स्वाधिनताको मुद्दामा एकै ठाउँमा उभिन्छ । एमसीसी प्रस्तावबारे प्रतिनिधिसभाको १२ गतेको बैठकमा मतदान हुन्छ या के हुन्छ ? अब छलफलको प्रक्रिया सुरु हुन्छ ।’
उनले एमसीसी कसैलाई पनि बलिको बोको बनाउने विषय नभएको जिकिर गरे । आफूहरुले एमसीसी टेबुल गर्ने विषयमा पनि आपत्ति जनाएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा फरक मत राखेको सुनाए ।
उनले भने, ‘यो सदनमा लैजानुपर्ने आवश्यकत्ता छैन भनेर आफ्नो राय दियौं । संशोधन र परिमार्जनको बाटोमा लैजान पाएको भए हुन्थ्यो । सरकारले संसद्बाट फाईनल होस भनेको थियो ।’