काठमाडौँ- सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच दलीय गठबन्धन संकटमा परिसकेको बताएका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रधानमन्त्री र प्रतिपक्षी नेताबीचको छलफलमा सहभागी भएर बाहिरिने क्रममा उनले गठबन्धन संकटमा परेको प्रतिक्रिया दिएका हुन्।
प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको बताएका छन् ।
कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफलमा प्रधानमन्त्रीले एमालेका माग सम्बोधन गरेर सदन सञ्चालन गर्न आवश्यक सहयोग गर्ने कुरा राखेको बैठकपछि कांग्रेस महामन्त्री थापाले जानकारी दिए ।
आजै साँझ साढे ७ बजे देउवा र ओलीबीच फेरि वार्ता हुने उनले बताए । थापाकाअनुसार एमसीसी अनुमोदन गर्ने विषय अब नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनियतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको प्रधानमन्त्रीले बताएका छन् ।
सत्ता गठबन्धन धरापमा परिसकेको बताउँदै यहाँभन्दा अघि बढ्ने अवस्था नरहेको महामन्त्री थापा बताएका छन्।
‘अब गठबन्धनबाट पार लाग्दैन। एमसीसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन,’ उनले भने, ‘यो गठबन्धन अघि जान सक्दैन। धरापमा पुगिसक्यो।’